© २०२३
बुटवल, २० भदौ ।
रुपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ अन्तर्गत बिहिबार भएको खेलमा गोर्खा ब्याईज स्पोर्टस क्लब बुटवल विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । राष्ट्रिय खेलाडी बिमल घर्तिसहित मैदानमा उत्रेको वालिङलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोर्खा ब्याईज उपाधि दाबेदारी पेश गरेको हो ।
यशोदा फुड्स प्रालिको मुख्य प्रायोजन, तिलोत्तमा नगरपालिकाको सहप्रयोजन तथा लिस्नु युवा क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलको १२ औ मिनेटमा वालिङका विश्वास श्रेष्ठले गोल गर्दैै खेलमा अग्रता दिएका थिए । खेलको १७ औ मिनेटमा गोर्खा ब्याईजका आशिष सोनमले बराबरी गोल गरे । लगत्तै गोर्खाका अनिल रानाले खेलको २० औ मिनेटमा गोल गरेर खेलमा अग्रता ल्याएका थिए । वालिङका बिमल घर्तिमगरले खेलको ४४ औ मिनेटमा बराबरी गोल गरे । निक्कै प्रतिस्प्रर्धात्मक खेलको ईन्जिुरी समयमा अनिल रानाले विजयी गोल गरे । उनि खेलमा प्लेयर अफ दी म्याच घोषित हुदै नगद ५ हजार रुपैया तथा गिफ्ट ह्याम्परबाट पुरस्कृत भए ।
शुक्रबार दोस्रो क्वाटरफाईनल खेल देवदह ब्याईज, देवदह र फर्साटिकर एफसीका बिचमा खेल हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ तथा उपविजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक पदमबहादुर थापाले बताए । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्तालाई १२ हजार ५ सय, राइजिङ खेलाडीलाई १२ हजार ५ सय र प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, अनुशासित टिमलाई आकर्षक ट्रफी प्रदान गरिनेछ ।
भदौ १४ देखी २७ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब तिलोत्तमा, झरना स्पोट्र्स क्लब तिलोत्तमा, फर्साटिकर एफसी, फर्साटिकर, भैरहवा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर, सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४, सुपौली, अभिषेक चर्च, रजहर नवलपरासी, गोर्खा ब्याईज बुटवल, देवदह ब्याईज खैरेनी, वालिङ–११ वालिङ नगरपालिका, पाल्पा–११ पाल्पा, नवलपरासी–११ नवलपरासी र कपिलवस्तु–११, कपिलवस्तु गरी १२ वटा टिमको सहभागिता रहेको छ ।