© २०२३
‘तीनै तहका सरकार मिली गरौं हातेमालोः मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने नाराका साथ आज मानव बेचबिखनविरुद्धको दिवस मनाईदैछ । मानव बेचबिखनविरुद्धको दिवस बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन गरेको दिनको सम्झनामा हरेक बर्ष मनाउने गरिएको छ ।
नेपालमा २०६४ भदौ २० गतेदेखि यो दिवस मनाउने औपचारिकता पूरा गरिदै आएको छ । बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजाने उद्देश्यले सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ ।
आजको दिनमा बिभिन्न कार्यक्रम, ¥याली र सभाहरू मार्फत मानव वेचविखन रहित नेपालको पैरवी गर्ने गरिन्छ । तर जति नै सचेतनामूलक कार्यक्रम गरिएपनि यो जालो तोड्न भने नसकिएको अवस्था छ । बढ्दो मानव बेचबिखन नियन्त्रणका लागि मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ छ ।
तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नहुँदा महिला बेचबिखन विरुद्धको अभियान पूर्णरूपमा सफल हुन सकेको छैन् । अर्को दुःखको कुरा के हो भने विगतको तुलनामा नेपालको सामाजिक तथा राजनीतिक स्वरूपमा परिवर्तन र सुधार आएपनि मानव बेचबिखन तथा ओसारपसारका प्रवृत्ति र समस्यामा भने कमी आएको छैन ।
कमजोर आर्थिक अवस्था, जानकारीको अभाव, बेरोजगारी, घरेलु हिंसा, पारिवारिक संरक्षणको अभाव हुनु मात्र बेचबिखनका कारण नभई भड्किलो जीवनशैली वा विलासिताको चाहना हुनु तथा कम मेहनतमा धेरै धन कमाउने आकांक्षाले पनि मानिसहरू विभिन्न जोखिममा पर्दै आएका छन् ।
व्यक्तिगत वा पारिवारिक कमजोरीको फाइदा उठाउँदै वैदेशिक र आन्तरिक रोजगारीमा लगाइदिने, विवाह गरिदिने, उपचार गरिदिने, पुजाआजामा संलग्न गराउने, भ्रमण गराउने लगायतका बहानामा परिवार, आफन्त, परिचित वा अपरिचित व्यक्तिबाट बेचबिखन तथा ओसारपसारका घटना हुँदै आएका छन् ।
बेचबिखनमा परेकाहरूले उजुरी गर्ने परिपाटी र उजुरी गरिहाले पनि निष्कृय बन्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । संविधान जारी भएको १० वर्ष भइसक्दा पनि मानव बेचबिखन तथा ओसारपसारका घटनामा सुधार आउन सकेको छैन् ।
बेचबिखनको जोखिमलाई कम गर्न गरिबी निवारण र आयआर्जनका कार्यक्रम, पीडितलाई विशेष संरक्षण, स्वरोजगारी सिर्जनाका कार्यक्रम, सबैका लागि शिक्षा र सिप जस्ता तल्लोस्तरका जनताको जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै जानुमा राजनीतिक संरक्षणसँगै दण्डहीनता मौलाउँदै जानुपनि हो । रोजगारीको निहुँमा शोषण, परिवारकै सदस्यबाट हुने ओसारपसार लगायत थुप्रै मानव बेचबिखनका स्वरूप हाम्रो समाजमा जताततै देखिन गरेका छन् ।
पछिल्लोसमय मानवलाई मानवले बेच्ने कुरा त सामान्य जस्तै भैसकेको छ । मानवका लागि अहिले मानवीयता भन्ने कुरा गौण भएको छ । पछिल्लोसमय त नेपालीले नै नेपालीलाई ठगी गर्ने, बिक्री गर्ने गरेको बिडम्वनाजन्य खबर सुन्नु परिरहेको छ । यो गंभीर चिन्ताको कुरा हो ।
हरेक प्रकारको मानव वेचविखन अझ विशेषगरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्न सरकारले पहल गर्दै आएको छ तर समस्या ज्यूँका त्यूँ छ । सरकार लगायत विभिन्न सामाजिक संघ संस्थाले यस प्रकारका घटना नियन्त्रण गर्ने प्रयास गर्दै आएका छन तर समाधानमा टसमसको अवस्था छैन ।
नेपालका विभिन्न शहरवाट राम्रो तलब तथा काम लगाईदिने नाममा बेचिने घटना बढ्दै गएको देखिएको छ । यो दिवसकै सन्दर्भमा यसतर्फको सचेतना अवको आवश्यकता हो ।
मानव बेचबिखनको जोखिम, न्यूनीकरणका लागि गरिएका पहल, बेचबिखनमा पर्ने कारणहरू, उद्धार, पुनस्र्थापना, पैरवी, कानुनी ब्यवस्था, नीति तथा कार्यक्रम कस्ता छन भन्ने विषयमा पनि अब बहस जरुरी छ ।
कुनै एक व्यक्ति वा संस्थाले गरेरमात्र मानव बेचबिखन रोकथाम संभव नभएकोले यसमा हामी सवै नेपालीको ऐक्यवद्धता आवश्यक छ । दिवस औपचारिकता हो ।
समुदायसम्म सचेतना फैलाउने काममा दिवसको सार्थकता हुन सक्छ तर साँचो अर्थमा नियन्त्रणको प्रभावकारी उपाय भनेको सरकारको प्रतिबद्धता हो । अतः मानव बेचबिखन नियन्त्रणमा सरकार गंभीर एवं जिम्मेवार ढंगले अघि बढोस् ।