© 2026
अर्घाखाँची, २० भदौ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले अनुमानित भन्दा ४३ प्रतिशत बढी आन्तरिक राजस्व सङ्कलन गर्न सफल भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड २० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा उक्त रकमभन्दा ४३ प्रतिशत बढी ४ करोड ५७ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्तिराम खनालले बताए ।
गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले भौतिक प्रगति ९९.८९ प्रतिशत र वित्तीय प्रगति ९६.९० गर्न सफल भएको नगरपालिकाका अधिकृत छैटौँ डिलकुमार केसीले बताए ।
सन्धिखर्क नगरपालिकाले आन्तरिक रूपमा पनि सक्षम हुनुपर्छ भन्ने मान्यताका साथ आन्तरिक राजस्व सङ्कलनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकालाई सक्षम बनाउन विभिन्न योजना बनाएर नगरपालिकाले काम गरिरहेको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरी काम गरिरहेको छ । सन्धिखर्क नगरपालिकाले यस वर्षका लागि १ अर्ब ११ करोड १४ लाख रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम अगाडि बढाएर काम सुरु गरेको छ ।
नगरवासीको जीवनस्तर सुधार र सहज सेवा प्रवाह सुनिश्चित गर्न नागरिक आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन हुने गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् ।
सामाजिक न्याय, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ । विशेष गरी नगरका तीन प्रमुख धार्मिक तथा पर्यटकीय स्थल—सुपादेउराली, नरपानी र अर्घाको पर्यटन प्रवर्धनका लागि विशेष पहल गरिने गरी काम अगाडि बढिरहेका छन् । कृषि क्षेत्रको सशक्तीकरणलाई नीति कार्यक्रममा केन्द्रमा राखिएको छ ।
नगरभित्र व्यावसायिक खेती विकास र रैथाने बालीको संरक्षणलाई प्राथमिकता दिइने बताइएको छ । त्यसै गरी, हल गोरु पाल्ने किसानहरूलाई प्रोत्साहन स्वरूप विशेष कार्यक्रम सञ्चालन गरिने योजना पनि नीति कार्यक्रममा उल्लेख गरेको छ ।
उद्योग, व्यापार तथा स्वरोजगार सिर्जनामा टेवा पु¥याउने उद्देश्यले ‘सुलभ कर्जा’ कार्यक्रम अन्तर्गत प्रस्ताव मूल्याङ्कनको आधारमा ५ लाख रुपैयाँसम्मको बिना धितो ऋण उपलब्ध गराइने व्यवस्था गरिएको छ प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताएका छन् ।
यसले स्वरोजगारको अवसर सिर्जना गर्नुका साथै साना उद्यमीहरूलाई आर्थिक उकासो दिन सहयोग पु¥याउने विश्वास लिइएको छ ।
शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयहरूमा संस्थागत सुधार अभियान सञ्चालन गरिने बताइएको छ । नगरभित्रको पाणिनि बहुमुखी क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीका लागि १३ लाख रुपैयाँको विशेष विनियोजन गरिएको छ ।
यसले उच्च शिक्षामा पहुँच विस्तार र गुणस्तरीय शिक्षा प्रवर्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको नगरपालिकाका सूचना अधिकारी मञ्जु खनालले जानकारी दिइन् ।