© २०२३
बर्दिया,२० भदौ ।
राजापुर नगरपालिका र बाँके युनेस्को क्लबको सहकार्यमा सञ्चालन भइरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गतका विभिन्न कार्यक्रम र योजनाहरूको अनुगमन कार्य सम्पन्न भएको छ ।
नगर प्रमुख दिपेश थारुको संरक्षकत्वमा गरिएको उक्त अनुगमनले राजापुरका विभिन्न वडामा भइरहेको योजनाको अवस्थाबारे विस्तृत जानकारी लिएको हो । नगर उपप्रमुख मनकला कुमारी चौधरीको संयोजकत्वमा बनेको अनुगमन टोलीमा वडा अध्यक्षहरू, नगरपालिकाका कर्मचारी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।
टोली वडा नम्बर ५, ६, ७ र १० मा पुगेको थियो । अनुगमन टोलीले पहिलो चरणमा स्थानीय महिलाले सञ्चालन गरिरहेको तरकारी खेतीको अवलोकन ग¥यो । यस खेतीमार्फत स्थानीय परिवारले आत्मनिर्भरता तर्फ उन्मुख भएको देखिएको छ ।
एक स्थानीय महिला कृषकले भनिन्, “हामीले पहिले थोरै मात्र खेती गथ्र्यौँ, तर यो परियोजनाले प्रविधियुक्त तरकारी खेती गर्ने तालिम र सहयोग गरेपछि अहिले आम्दानी बढेको छ ।”
त्यस्तै, बेतबाट निर्माण सामग्री उत्पादन गर्ने कार्यक्रम पनि परियोजनाको महत्वपूर्ण अङ्ग बनेको छ । यस योजनाले दाउरा र वातावरणमा दबाब कम गर्ने मात्र होइन, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने सम्भावना बढाएको छ । अनुगमन टोलीका सदस्यहरूले यसलाई दीगो व्यवसायमा परिणत गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
अनुगमन टोलीले मानव बेचबिखनविरुद्धको साक्षरता कक्षा समेत अवलोकन ग¥यो । राजापुर क्षेत्र भारतीय सीमावर्ती भएकाले मानव बेचबिखनका जोखिम उच्च मानिन्छ । यस सन्दर्भमा परियोजनाले सचेतना कक्षाको माध्यमबाट विद्यार्थी, महिला समूह र समुदायलाई सचेत बनाउँदै आएको नगर उपप्रमुख चौधरीले जानकारी दिइन ।
अनुगमन टोलीले विभिन्न विद्यालयमा भइरहेको निर्माणाधीन भवन र शौचालयको कामको समेत मूल्याङ्कन ग¥यो । विद्यार्थीलाई अध्ययन गर्न सहज वातावरण बनाउन भौतिक पूर्वाधारलाई बलियो बनाउनुपर्ने आवश्यकता छ भन्नेमा सबै सरोकारवालाहरू सहमत देखिएका छन् ।
साथै, विद्यालयमा सञ्चालित शुद्ध खानेपानी योजनालाई समेत टोलीले अवलोकन गरेको थियो । विद्यार्थीलाई सुरक्षित पानी पिउन दिन सकिने अवस्था सिर्जना भएकामा विद्यालय प्रशासनले खुशी व्यक्त ग¥यो । यसैगरी, नगरभित्र निर्माणाधीन सार्वजनिक शौचालय र सडक सुधार योजनाहरू पनि अनुगमनमा समावेश थिए ।
राजापुरका कतिपय क्षेत्रमा अझै आधारभूत सरसफाइ र यातायातको चुनौती रहेकाले यस्ता योजनाले प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ । अनुगमनपश्चात सरोकारवालाहरूले ग्रिन इकोनोमी परियोजनाको कार्यप्रगति सन्तोषजनक भएको मूल्याङ्कन गरेका छन् ।
योजनाले राजापुर नगरको वास्तविक आवश्यकता अनुसार परियोजना अघि बढाइरहेको बताउँदै नगर प्रमुख दिपेश थारुले दिगो विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । यद्यपि अनुगमनमा देखिएका सकारात्मक पक्षसँगै केही चुनौती पनि देखिएका छन् । कतिपय योजनामा बजेट अभाव, प्राविधिक जनशक्ति अभाव र स्थानीय स्तरमा निरन्तर निगरानी नहुनु प्रमुख समस्या रहेको सरोकारवालाहरूको भनाइ छ ।