© २०२३
काठमाडौं, २० भदौ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी कदम बताएका छन् ।फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सरकार आलोचना दबाउन, आफ्नालाई जोगाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न लागेको आरोप लगाए ।
‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले गरेको छ,’ प्रचण्डले भनेका छन् । उनले यो निर्णय सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न दिएको आदेशको अपव्याख्या भएको जिकिर गरे । साथै, यसले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक र उनका परिवारबीचको सम्पर्कलाई जटिल बनाउने उल्लेख गरे ।
‘संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागितासहित अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक छ,’ उनले भने ।प्रचण्डले संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणका लागि सरकारलाई निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गर्दा पनि आलोचना खेप्नुपरेको थियो । उनले नेतृत्व गरेको सरकारले २०८० सालमा ल्याएको सामाजिक सञ्जाल नियमनसम्बन्धी निर्देशिकाअनुसार टिकटक सूचीकरण भएपछि पुनः सञ्चालनमा आएको थियो । तर, सूचीकरण अस्वीकार गरेको भन्दै वर्तमान सरकारले २०८२ भदौ १९ गते २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।