© २०२३
काठमाडौं, २० भदौ ।
मकवानपुरको बकैया गाउँपालिका-५ गरगरेमा शुक्रबार बिहान भएको आगलागीमा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
लिलाराम जिम्बाको किराना पसलबाट सुरु भएको आगोले दुईतले पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा घरधनी ४५ वर्षीय जिम्बा घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि हेटौंडाबाट कीर्तिपुरस्थित अस्पतालमा पठाइएको छ ।
प्रहरीका अनुसार घर अगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिँदा आगलागी सुरु भएको हो । आगोले नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, दुईवटा मोटरसाइकल, खाद्यान्न, कपडा, फर्निचर लगायत सम्पत्ति नष्ट गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकलको सहयोगमा बिहान करिब दुई घण्टापछि आगो नियन्त्रणमा ल्याएको थियो ।
आगो बिहान करिब ७:४५ बजे लागेको र ९:४० बजे मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।