© २०२३
काठमाडौँ, २० भदौ ।
बैंक घोटाला प्रकरणमा करिब १२ करोड रुपैयाँ जरिवाना र १० वर्ष कैद सजाय तोकिएका दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौँ महानगरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार, प्रधानलाई ९ करोड २१ लाख ५० हजार रुपैयाँ जरिवाना र ७ वर्ष कैद तथा श्रेष्ठलाई २ करोड ५० लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैदको फैसला भएको छ । उनीहरू लामो समयदेखि फरार रहेका थिए ।
अनुसन्धानका क्रममा बैंकका कर्मचारीको मिलेमतोमा “गुड फर पेमेन्ट”का नाममा ठूलो रकम हिनामिना गरिएको खुलेको थियो । यो घोटाला प्रकरण २०६९ सालमा बाहिर आएको हो। त्यसपछि विशेष छानबिन समिति गठन गरी विस्तृत छानबिन गरिएको थियो ।