© २०२३
बाँके, १९ भदौ ।
लुम्बिनी र गण्डकी प्रदेशबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दुबै प्रदेशका सरोकारवाला निकायले भारतीय पर्यटकलाई सहज रुपमा नेपाल भित्र्याउन सरकारले पर्यटन–मैत्री नीति बनाउनुपर्ने सुझाव दिएका हुन् ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेका अनुसार नेपालमा आउने पर्यटकमध्ये भारत प्रमुख स्रोत मुलुक हो । उनले भने, “भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आउँछन् तर उनीहरुले अनेकौं समस्या भोग्नुपरेको गुनासो छ । पर्यटकलाई ट्राफिक चेकिङका नाममा पटक–पटक रोकिनुपर्छ, गाडी देख्नेबित्तिकै थुप्रै ठाउँमा चेकिङ हुन्छ, जसले उनीहरूलाई हैरान बनाएको छ ।”
मन्त्री न्यौपानेले प्रहरीसँग छलफल गरी चेकिङ प्रणालीलाई समयानुकूल बनाउन पहल भइरहेको बताए । उनले थपे, “हामीले यसअघि पनि प्रहरीसँग कुरा गरिसकेका छौं, अब विधि फरक बनाउनुपर्ने आवश्यकता छ ।”
उनका अनुसार नेपालगन्ज र भैरहवाबाट पोखराका लागि सिधा हवाई उडान भए पनि लुम्बिनी र गण्डकी प्रदेशबीच समन्वयको कमीले आपसी पर्यटन आदानप्रदान अपेक्षित स्तरमा हुन सकेको छैन । “पोखराका पर्यटकलाई लुम्बिनी र लुम्बिनीका पर्यटकलाई पोखरा पुर्याउन हामी सफल भएका छैनौं,”उनले भने ।
भारतबाट मात्र वार्षिक ४ देखि ५ लाख पर्यटक नेपाल आउने गरेका छन् । यस वर्ष सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको मन्त्री न्यौपानेले जानकारी दिँदै भने, “लक्ष्य मात्र होइन, सहज वातावरण पनि बनाउनु आवश्यक छ,” ।
लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्लेले पनि पर्यटन प्रवर्द्धनका लागि सरकारले पर्यटन–मैत्री व्यवहार र नीतिहरू ल्याउनुपर्नेमा जोड दिइन् ।
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा बिहीबार नेपालगन्जमा भएको अन्तरप्रदेशीय पर्यटन प्रवर्द्धन कार्यक्रममा सरोकारवालाले प्रहरी र ट्राफिक प्रहरीको चेकजाँच शैलीमै सुधार आवश्यक रहेको निष्कर्ष निकाले ।
कार्यक्रममा बोल्दै नाट्टा गण्डकी प्रदेशका प्रतिनिधिहरूले पोखरा भ्रमणमा आउने पर्यटकलाई लुम्बिनी पनि घुमाउने वातावरण बनाउन आफूहरू तयार रहेको प्रतिवद्धता जनाए ।
त्यस्तै, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भारतबाट आउने पर्यटकमाथि हुने दुर्व्यवहार तत्काल रोक्नुपर्ने माग गर्दै भने, “नेपालगन्ज हुँदै आउने पर्यटकलाई पोखरा घुमाउन लैजाने तयारी हाम्रो छ, तर सुरक्षाकर्मीको अनावश्यक चेकजाँच बन्द हुनुपर्छ ।”