© २०२३
सन् २०२५ को अगस्तको एक महिनामा मात्रै ८८ हजार ६८० पर्यटक नेपाल आएका छन । गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक वृद्धि भएको छ । नेपालका पर्यटन क्षेत्रमा यो उत्साहको लहर हो भन्दा अत्युक्ति हुँदैन ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सबैभन्दा बढि भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत पर्यटक आएको वोर्डले जनाएको छ । श्रीलंकाबाट ५ हजार ९५६ र बंगलादेशबाट ४ हजार २६२ पर्यटक भित्रिएका छन् ।
सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए । पछिल्लोसमय नेपालको पर्यटन क्षेत्रले लय समातेको महसुस भएको छ । पछिल्लो तथ्यांकले नेपालको पर्यटन क्रमशः लयमा आउन थालेको छ ।
पर्यटक आगमनले विगतमा नेपालको आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको थियो । अवपनि पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । यसैगरी हरेक महिना पर्यटक बढ्ने हो भने यसले नेपालको अर्थतन्त्रमाथि उठाउन ठूलो भूमिका निर्वाह गर्नेछ ।
अर्थतन्त्र चलायमान बनाउनेमात्र नभै आन्तरिक रोजगारी सिर्जनाका साथै बजार गुल्जार हुन ठूलो सहयोग पुग्न सक्छ । नेपालका धार्मिक तथा ऐतिहासिक स्थलमा पर्यटक आगमनले ठूलो उत्साह सिर्जना गरेको छ र यसबाट पर्यटन ब्यवसायी खुसी र उत्साहित भएका छन् ।
अर्कोतर्फ भगवान गौतमबुद्धको जन्मस्थल लुम्विनीमा अहिले भारतीयदेखि तेश्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ । पर्यटक आगमनको सिजन नभएको अवस्थामा पनि लुम्बिनीको पर्यटनले खुसीको माहौल सिर्जना गरेको छ । लुम्विनीका पर्यटन व्यवसायीले विगत चार बर्षदेखि सुस्ताएको पर्यटनमा अव सुधार आउने अपेक्षा गरेका छन ।
लुम्विनीमा अहिले आन्तरिक पर्यटकहरूको चहलपहल समेत बढेको छ । कूल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत बढीको योगदान दिने पर्यटन क्षेत्र राष्ट्रिय आम्दानीको मुख्य स्रोतमध्येको एक हो ।
लुम्विनीसंगै देशका अन्य क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यमा समेत अहिले पर्यटकको आगमन बढेकोले नेपालको अर्थतन्त्रको सुधारमा ठूलो सहयोग पुग्ने देखिएको छ । त्यसबाट नीजि क्षेत्रपनि उत्साहित वनेको छ र विस्तारै पर्यटनसंगै अन्य क्षेत्रपनि आफ्नो गतिमा आउने आधार सिर्जना भैरहेको छ
। नेपालको पर्यटन क्षेत्र उत्साहित अवस्थामा रहेकोले अव सरकारले समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि योजना ल्याउनु जरुरी छ । देशको आर्थिक अवस्था सुधारमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेकोले देशभर रहेका पर्यटकीय स्थलको संरक्षणमा अब चासो दिनु जरुरी छ ।
अहिले जसरी लुम्विनीको पर्यटन क्षेत्रले आशा जगाएको छ, त्यो अवस्था सबैतिर हुनुपर्दछ भन्ने हो । नेपालको पर्यटक आगमनमा बृद्धिले खुसी सिर्जना गरेको छ । अव यही रफ्तारमा पर्यटक आगमन बृद्धिसंगै अरू क्षेत्रले पनि आशातीत सुधार गरेको अवस्थामा नेपालको अर्थतन्त्र सुदृढ र बलियो हुने कुरामा दुईमत नहोला ।
अव सरकारको काँधमा ठूलो र ऐतिहासिक जिम्मेवारी छ । अर्थतन्त्रले लय समातिरहेको बेला त्यसको मूख्य आधारमध्येको एक पर्यटन क्षेत्रलाई माथि उठाउन सरकारको जोडबल महत्वपूर्ण हुनेछ ।
सरकारका प्रयासले पर्यटन क्षेत्रलाई पूर्ववत गराउन धेरै सहयोग पुग्छ । पर्यटन क्षेत्रलाई सुचारु गराउन सकिएमा यो क्षेत्रमा आश्रित हजारौं मजदुर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा ठूलो सहयोग पुग्नेछ ।
देशको रोजगारी बृद्धिमा टेवा पुग्छ । यसकै कारण नेपाली युवा विदेश पलायन हुनबाट केही हदसम्म रोकिने अवस्था आउन सक्छ । तसर्थ अव सरकारले लुम्विनीसंगै नेपालको समग्र पर्यटन क्षेत्रलाई आकर्षित गर्ने नयाँ अभियान चलाओस् ।