Butwal Today

फोन कलमा चर्को स्वरले बोले तीन लाख जरिवाना लाग्छ: नेपाल प्रहरी

१९ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, १९ भदौ ।

नेपाल प्रहरीले फोन कल गर्दा आवाज नियन्त्रणमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

मानव स्वास्थ्यका लागि ध्वनि प्रदूषण हानिकारक हुने भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक सूचना निकालेको हो ।

प्रहरीका अनुसार ध्वनि प्रदूषणले गर्भवती महिला, मुटुका बिरामी, वृद्धवृद्धा र बालबालिकाको मानसिक, शैक्षिक तथा शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने मात्र होइन, आम सर्वसाधारणको सामाजिक, आर्थिक गतिविधि र नैतिक मूल्य मान्यतासमेत प्रभावित हुन्छ ।

यसका प्रतिकूल असरबाट बच्न घर, परिवार र छिमेकीको हितका लागि राति अनावश्यक हल्लाखल्ला नगर्न, फोन कल गर्दा आवाज कम गर्न वा हेडफोन प्रयोग गर्न, सकेसम्म म्यासेजमार्फत संवाद गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले अबेर राति म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा म्युजिक सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको घण्टी ९बेल० बजाएर छिमेकीलाई असुविधा नपुर्‍याउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न तथा बिहानको नित्यकर्मका क्रममा अनावश्यक रुपमा खोक्ने वा थुक्ने कार्य नगर्न आग्रह गरेको छ ।

कानुनअनुसार ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि सम्बन्धित निकायले बन्देज लगाउन सक्ने र दोषीलाई अधिकतम तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

यदि कसैले यस्ता कार्य गरी टोल–छिमेकमा अशान्ति फैलाएमा प्रहरीलाई १०० वा १०३ नम्बरमा फोन गरी जानकारी दिन सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?