Butwal Today

सेयर बजार ६.५५ अंकले घट्दै २७१९ अंकमा पुग्यो

१९ भाद्र २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, १९ भदौ ।

बिहीबार सेयर बजार ६.५५ अंकले घट्दै २७१९ अंकमा पुगेको छ । दिनको अन्तिम ४० मिनेटमा बजारमा केही सुधार भए पनि सूचक हरियो हुन सकेन ।

भारित औसत गणनाअघि बजार एक अंकभन्दा कमले मात्र रातो थियो । तर गणनापछि गिरावट ६ अंकभन्दा बढीमा पुगेको हो । दिउँसो २:२० बजेतिर नेप्से २७०३ अंकसम्म झरेको बजार त्यसपछि क्रमशः उकालो लाग्दै केही सम्हालिएको देखियो ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब १४ करोडको कारोबार भएको हो । यस दिन ८५ कम्पनीको मूल्य बढ्दा १६५ कम्पनीको घट्यो र एक कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहगत सूचकमा मिश्रित प्रभाव देखिएको छ । सबै समूहको उतारचढाव १ प्रतिशतभित्र सीमित रह्यो । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य समूहमा गिरावट देखिएको छ भने व्यापार समूह भने बढ्न सफल भयो ।

कम्पनीगत कारोबारमा हिमस्टार एनर्जीको मूल्य १० प्रतिशतले बढ्दै सबैभन्दा अगाडि रह्यो ।

विन्ध्यबासिनी हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत् र उपकार लघुवित्तको मूल्य पनि उल्लेख्य रूपमा बढ्यो । तर, बाराही हाइड्रोपावर, पिपुल्स पावर, दिव्यश्वरी हाइड्रोपावर र ग्रिन डेभलपमेन्ट बैंकको मूल्य घट्यो ।

नेपाल पुनर्बीमा, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर र हिमालयन डिस्टिलरी कारोबारमा क्रमशः अग्रस्थानमा रहेका छन् ।