© २०२३
लमही , १९ भदौ ।
निजी विद्यालयले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको सरकारले अवमूल्यन गरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । बुधवार दाङको घोराहीमा निजी विद्यालयका छाता सङ्गठनहरूद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै वक्ताहरूले सरकारले निजी विद्यालयहरूको योगदानको अवमूल्यन गरेको बताएका हुन् ।
विद्यालय शिक्षा विधेयकका केही बुँदा निजी विद्यालयको हित विपरीत रहेको भन्दै प्याब्सन दाङ, एन प्याब्सन दाङ र हिसान दाङले संयुक्त रूपमा विरोध र्याली तथा खबरदारी सभा सम्पन्न गरेका छन् ।
सभालाई सम्बोधन गर्दै एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश शर्माले निजी विद्यालयमाथि सरकारले न्याय दिन नसकेको बताए । शर्माले नेपालको शिक्षा क्षेत्रमा निजी विद्यालयको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारीले पनि सरकारको सौतेलो व्यवहारप्रति आपत्ति जनाउँदै निजी क्षेत्रप्रति विभेद भइरहेको बताए । हिसान दाङका सचिव विष्णु देवकोटाले सरकारले ल्याउन थालेको विधेयक विभेदकारी रहेको स्पष्ट पारे ।
यसैबिच प्याब्सन, एन प्याब्सन र हिसान दाङले संयुक्त रूपमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दिपक गिरीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाली काङ्ग्रेसका नेता गिरीले ज्ञापन पत्र बुझ्दै निजी विद्यालयका माग जायज रहेको बताए । निजी विद्यालयले राखेका माग सम्बोधन गर्न आफू सकारात्मक रहेको नेता गिरीले बताए ।