© २०२३
प्राकृतिक चिकित्सा विज्ञान एक यस्तो एउटा प्राकृतिक र मौलिक उपचार प्रणाली हो जसले शरीरको स्वउपचार गर्ने स्वाभाविक क्षमतालाई प्राथमिकता दिने गर्दछ । यस प्रणालीमा रोगको लक्षण मात्र होइन त्यसको मूल कारणको उपचारमा जोड दिइन्छ ।
प्राकृतिक चिकित्सा विधिहरू जीवनशैलीमा सुधार, रोग निवारण र प्राकृतिक साधनको प्रयोगमार्फत स्वास्थ्य प्रवर्धन गर्ने विविध सिद्धान्तमा आधारित छ । यी सिद्धान्त प्राकृतिक उपचारको दर्शन, चिन्तन, मर्म, भावना र अभ्यासलाई मार्गदर्शन गर्ने मूल नियम हुन् ।
यी सिद्धान्तले प्राकृतिक चिकित्सा अभ्यासका क्रममा रोगको रोकथाम, सुरक्षित उपचार र दीर्घकालीन स्वास्थ्य लाभका लागि मार्गदर्शन गर्छन् । यिनै सिद्धान्तले प्राकृतिक चिकित्सा अभ्यासको मूल आधार बनाउँछन् ।
स्वस्थ जीवनशैली हाम्रो स्वास्थ्यको मूल आधार हो । जीवनशैली स्वस्थकर नहुँदा हामीलाई अनेकौँ नसर्ने रोगले गाँज्दछ भने सरुवा रोगले पनि चाँडै समात्छ । जीवनशैली भनेको भोजन, व्यायाम, विश्राम, विचार एवं व्यवहारलाई स्वास्थ्यमैत्री हुने गरी ठिक रूपले समायोजन गर्नु हो ।
मानवमा हरेक कुरालाई सकारात्मक र नकारात्मक भनी छुट्याइहाल्ने तथा आफूले मन पराएको पक्षतिर ढल्किएर अर्को पक्षलाई बेवास्ता गर्ने बानी हुन्छ तर राम्रो र नराम्रोभन्दा पर समत्वको तल छ । समत्व अपनाउन नसक्ने व्यक्ति चाँडै रोगको चङ्गुलमा फस्दछ । जस्तैः व्यायाम, श्रम आदि नगर्ने बानी नराम्रो हो ।
व्यायाम नगर्नाले मधुमेह, उच्च रक्तचापलगायत थुपै्र रोग लाग्छन् भन्ने हामीलाई थाहा छ तर त्यही व्यायाम वा श्रम बढी भयो भने पनि रोग लाग्छ । एकदमै बढी व्यायाम वा चोट लाग्ने खेलकुद बढी खेल्नाले जोर्नी तथा मांसपेशीका रोग, हर्मोनसम्बन्धी समस्या तथा स्नायुसम्बन्धी रोग लाग्छन् । यसलाई सन्तुलनमा ल्याउन विश्राम चाहिन्छ ।
चिल्लोले खराब गर्छ भन्ने त हामीलाई थाहा छ तर चिल्लो पदार्थ खानामा नभए पनि थुप्रै रोग जन्मिन सक्छन् भन्ने पनि थाहा हुनु जरुरी छ । इसेन्सियल फ्याटी एसिड भएको चिल्लोलाई रोग उपचारमा समेत प्रयोग गरिन्छ ।
त्यस्तै ठिक मात्रामा नराम्रो चिल्लो अर्थात् स्याचुरेटेड फ्याटी एसिडको पनि शरीरलाई जरुरत पर्दछ । स्वस्थ रहन सरसफाइ एकदमै महत्वपूर्ण छ भन्ने त हामीलाई थाहा नै छ । त्यस्तै फोहोरी वातावरणले विभिन्न रोगाणुलाई निम्तो गर्दछ ।
यी रोगाणुले अनेक रोग उत्पन्न गर्छन् भन्ने पनि हामीलाई थाहा छ तर हाम्रो शरीर रोगाणुको संसर्गमा आउन सकेन भने विस्तारै ती रोगाणुविरुद्ध रोग प्रतिरोधक शक्ति कम हुँदै जान्छ र शरीरले रोगाणुसँग लड्न सक्दैन । फलस्वरूप रोग लाग्न सक्छन् ।
तामाले शरीर रक्षा गर्ने एन्टिअक्सिडेन्ट्सको निर्माण गर्दछ । त्यति मात्रै होइन यसले कोलेस्टेरोल, रक्तचाप, मधुमेह ठिक राख्ने काम पनि गर्छ तर यही तामा बढी भए शरीर नष्ट गर्ने फ्री रेडिकल्स बढ्छन् । जसले उल्टै शरीरलाई हानी गर्दछ ।
त्यसैले हामीले के बुझ्नु जरुरी छ भने जसरी हरेक सिक्काका दुई पाटा हुन्छन् त्यसरी नै हरेक वस्तुका राम्रा र नराम्रा पक्ष हुन्छन् । यसर्थ सबैभन्दा महत्वपूर्ण भनेको सन्तुलन हो । जीवनमा कुनै पनि वस्तुको सन्तुलन कायम गर्नु नै स्वास्थ्य प्राप्त गर्ने एक मात्र उपाय हुन्छ । चाहे त्यो खानामा होस् वा व्यायाममा वा तनावमा । सन्तुलन नै स्वास्थ्य हो ।
साथै याद राखौँ बदलिँदो वातावरण भए पनि जे जस्तो अवस्थामा पनि शारीरिक, मानसिक, आध्यात्मिक रूपमा सन्तुलित हुनु नै स्वस्थता हो । अचेल बदलिँदो वातावरण र आधुनिक जीवनशैलीबीच हामी कति स्वस्थ रहन सक्छौँ भन्ने कुराको निर्धारण हाम्रो मन तथा शरीरको प्रकृति र गठनले गर्दछ ।
प्रकृति र गठनको सिद्धान्तले गर्दा नै थुप्रै व्यक्ति पूर्णरूपमा अप्राकृतिक जीवनयापन गर्दागर्दै पनि सम्पूर्ण जीवनभर स्वस्थ नै रहन्छन् भने कतिपय व्यक्ति प्राकृतिक जीवनयापन गर्दागर्दै पनि रोगको सिकार बन्दछन् ।
कतिपय व्यक्तिलाई रक्सी, चुरोट तथा मासुको सेवन जीवनभर गर्दा पनि केही हुँदैन तर प्राकृतिक जीवनयापन गरेका व्यक्ति भने क्यान्सरको सिकार बन्छन् । प्राकृतिक नियम अकाट्य छ र यसलाई पालन ग¥यौँ भने हामी स्वस्थ रहन्छौँ । अचेल रोग बढ्नुको मुख्य कारण नै हामीले प्रकृतिको नियम तोड्नु हो ।
यदि हामी स्वस्थ रहन चाहन्छौँ भने हामीले पूर्णतया प्रकृतिमै आश्रित रही प्रकृतिका नियम अर्थात् प्राकृतिक आहारविहार, व्यायाम तथा विश्रामलाई ध्यान दिनु एकदमै आवश्यक भएको छ । यो नियम चाहे खानपानको होस् वा व्यायामको होस् वा वातावरण वा विश्रामकै किन नहोस् ।
अचेल हामी प्रकृतिबाट टाढा भइरहेका छौँ । कृत्रिमता नै रोगको जननी हो । त्यसमाथि मान्छे त प्रकृतिमाथि विजय पाउन चाहन्छ । जुन असम्भव छ । प्रकृतिले नै हामीलाई जन्माएको हो र हामीले यसैमा विलीन हुनु छ । प्राकृतिक खानपान, व्यायाम, तनाव, प्रदूषण आदि नियन्त्रण वा ठिक नगरी रोग ठिक गर्न सकिन्न । यही नै यथार्थ हो ।
हाम्रो सोचाइ, मानसिकता र प्रवृत्तिले हामीलाई कस्तो खाले रोग लाग्ने हो भन्ने कुरा निर्धारण गर्दछ । हामीले गरेको कार्य, लिएको तनाव, खाएको खाना, व्यायाम, जीवनशैली, बानी, कुलत, चाहना, साथीसङ्गत, मनपर्ने वस्तु आदि सम्पूर्ण कुरा हाम्रो सोचाइ, मानसिकता र प्रवृत्तिले नै निर्धारण हुन्छ । यी नै थुप्रै रोगका कारण बन्छन् ।
जीवनशैलीसँग सम्बन्धित वा जीवनशैलीले उब्जाएका सर्ने तथा नसर्ने रोग त शतप्रतिशत सोचाइ, मानसिकता र प्रवृत्तिले नै उब्जाएका हुन्छन् । हामीलाई के मन पर्छ वा पर्दैन त्यसले नै यस्ता प्रायः रोगको आधार तयार गर्दछ ।
यसलाई केही उदाहरणबाट बुझौँ: रक्सी, चुरोट, चिल्लो खाना, मासु, फास्टफुड आदि बढी खान मन पराउनेलाई कोलस्टेरोलका समस्या, विभिन्न खाले क्यान्सर, मुटु तथा रक्तनलीका रोग र मधुमेह लाग्ने सम्भावना उच्च हुन्छ ।
अत्यधिक तनाव लिनेलाई मानसिक समस्या, उच्च रक्तचाप, मधुमेह, स्नायु तथा हर्मोनसम्बन्धी रोग लाग्न सक्छ । ढाडलाई आराम दिन समय नहुने, बढी बसिरहने वा उठिरहने, खराब आसनमा बसिरहने, सामान उठाई रहनुपर्नेलाई ढाडको समस्या हुन्छ ।
व्यायाम वा शारीरिक श्रम गर्न नरुचाउनेलाई मोटोपन, मोटोपनसँग सम्बन्धित रोग जस्तै हड्डी खिइने, मुटु तथा रक्तनलीका रोग तथा मधुमेह आदि हुन सक्छ । यस्तै आरामका निम्ति समय नै नहुनेहरू, सधैँ कुनै न कुनै काममा शारीरिक रूपले लागिरहनेहरू वा सधैँ काममा दौडधुप गरिरहनुपर्नेहरूलाई शरीर खिइने वा टुटफुट हुने, मांसपेशी कडा भई दुख्ने किसिमका समस्या देखा पर्न सक्छन् ।
व्यभिचारीलाई एड्स, हेपाटाइटिस बी, यौन रोग आदि हुने सम्भावना बढी हुन्छ । जति नामकरण गरे पनि मूलभूत रूपमा रोग एउटै छ र रोगको कारण पनि एउटै छ । त्यो हो शरीर वा मनमा विजातीय पदार्थले बास गर्नु । चाहे त्यो रोगाणु होस् वा विष–सञ्चय वा दोष–सञ्चय वा विषको उत्पादन वा सेवन होस् ।
यस सैद्धान्तिक आधारले रोग एउटै छ र त्यसको उपचार पनि एउटै छ भन्ने कुरा प्रस्ट पार्दछ । यसलाई अझै राम्ररी भन्नुपर्दा अधिकांश रोगको मुख्य कारण शरीरमा नचाहिने पदार्थ विकार/विजातीय र शरीरबाट बाहिर फ्याकिनुपर्ने पदार्थ जस्तै युरिया, युरिक एसिड जस्ता विभिन्न मेटाबोलिज्मका अन्तिम पदार्थ वा शरीरमा हुन नपर्ने रोगाणु आदि जम्मा हुनु, ठूलो आन्द्रामा मल सञ्चय, रक्तदोष, नकारात्मक विचार र औषधिको गलत प्रयोग आदि नै हुन् ।
शरीरलाई आवश्यक नभएका वा हानि गर्ने विजातीय पदार्थहरू हाम्रा गलत खानपान, जीवनशैली, गलत शारीरिक अवस्था, अधिक वा कम श्रम÷व्यायाम, तनाव, नकारात्मक विचार आदिका कारण नै शरीर वा मनमा जम्मा हुन्छन् । रोग लगाउन मद्दत गर्ने रोगाणु पनि शरीरमा मेल नखाने विजातीय जीव नै हुन् ।
तसर्थ रोगको उपचार भनेको शरीरबाट विजातीय पदार्थ निष्कासित गर्नु, कब्जियत हुन नदिनु, पाचनको ख्याल गरी भोजन गर्नु, व्यायाममा सात्विक हुनु, वातावरणीय प्रदूषण र फोहोरमैलाबाट बच्ने उपाय गर्नु र हर्मोन एवं ग्रन्थीको सन्तुलन मिलाउनु, रोगाणुको सफाया गर्नु नै हो । रोग भगाउने मूल चिकित्सा पनि एउटै छ ।
त्यो हो शरीरमा जीवनशक्ति र रोग प्रतिरोधशक्ति बढाई विजातीय भारलाई निष्कासित गर्नु । रोगको मूल कारण एक छ र रोगको मूल उपचार पनि एक नै छ । कुनैपनि बाहिरी तत्व वा रोगाणुले शरीरमा प्रवेश गरेमा हाम्रो शरीरमा भएका सैनिक अर्थात् रोग प्रतिरक्षा प्रणालीले त्यसलाई तुरुन्तै मार्दछ । काटिएको भाग शरीरले आफैँ जोड्छ ।
भाँचिएको हड्डी नचलाई राख्यो भने जस्ताको तस्तै जोडिन्छ । भाँचिएको कुनैपनि हाड जोडिन प्लास्टर नै गर्नु पर्छ भन्ने छैन । रगत बगिरहेको आफैँ जम्छ र रोकिन्छ । बढी खाँदा वा विष खाँदा उल्टी हुन्छ । घाउ वा चोटपटकमा विभिन्न किसिमका कोषले टाल्ने, जोड्ने, रक्तस्राव रोक्ने, नयाँ कोष उमार्ने आदि भई मर्मतका काम सम्पन्न हुन्छन् ।
यी सबै प्रक्रिया स्वतः चलिरहन्छ । हामीले प्राकृतिक आहारविहार अपनाएर शरीरलाई त्यसका निम्ति अवसर प्रदान गर्नु पर्छ । जबसम्म जीवनशक्ति ठिक छ तबसम्म रोग लाग्न सक्दैन वा रोग लागेमा पनि चाँडै नै ठिक हुन्छ । जीवनशक्ति बढाउन जीवनशैली, योग र प्राकृतिक चिकित्साभन्दा राम्रो अन्य अरू पद्धति छैन ।
प्राकृतिक चिकित्साले विश्वास गर्दै आएको अर्को मूलभूत सिद्धान्त भनेको प्रकृति नै सर्वश्रेष्ठ चिकित्सकको सिद्धान्त हो । यो सिद्धान्तले प्रकृतिमा पाइने उपचार क्षमताको महत्वलाई जनाउँछ । आधुनिक औषधिको विकासभन्दा अगाडि मानिस स्वास्थ्यमै सुधार ल्याउन हावा, पानी, घाम, जडीबुटी र ताजा खाना जस्ता प्राकृतिक तत्वमा भर पर्थे ।
प्रकृतिले केवल शारीरिक उपचार मात्र होइन, मानसिक र भावनात्मक सन्तुलन कायम राख्न पनि मद्दत गर्छ । घामको किरणले शरीरमा भिटामिन–डी उत्पादन गर्छ ।