© २०२३
काठमाडौँ, १९ भदौ ।
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ मा समर्थन गरेको भन्नेबारे संसद्मा स्पष्ट पार्न आग्रह गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको हालैको चीन भ्रमणपछि चिनियाँ पक्षले सार्वजनिक गरेको वक्तव्यमा नेपालले चीनको सुरक्षा रणनीति (जीएसआइ ) मा समर्थन गरेको उल्लेख भए पनि भ्रमण दलका सदस्यहरूले भने त्यसलाई अस्वीकार गरेको दाबी गरेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न आवश्यक रहेको बताए ।
उनले भने, “चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि जारी वक्तव्यमा नेपालले चीनको सुरक्षा रणनीतिलाई समर्थन गरेको भनिएको छ । तर भ्रमण दलका सदस्यहरूले समर्थन नगरेको भन्दै आएका छन् । वास्तविकता के हो भन्ने स्पष्ट पार्नुपर्छ ।”
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा आयोजित सैन्य परेडमा सहभागी भएको विषयमा पनि प्रश्न उठाए । दोस्रो विश्वयुद्धमा जापान पराजित भएको ८० औं वार्षिकोत्सवका अवसरमा परेड आयोजना गरिएको स्मरण गर्दै उनले भने, “जापान नेपालको प्रमुख विकास साझेदार हो ।
आत्मसमर्पण गरेको प्रसंगलाई सम्झना गर्न आयोजित परेडमा प्रधानमन्त्रीले सहभागिता जनाउनु नेपालले लिँदै आएको असंलग्न परराष्ट्र नीति र पञ्चशील सिद्धान्त विपरीत होइन र ?” पाण्डेले यसबारे प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने आवश्यकता औंल्याए ।