© २०२३
काठमाडौं, १९ भदौ ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो कदमप्रति आफ्नो पार्टीले विरोध गर्ने स्पष्ट पारे । पाण्डेका अनुसार समयमा तयारी नगर्ने र आवश्यक वातावरण नबनाउने सरकारकै कमजोरीका कारण यो अवस्था आएको हो ।
“सरकारले समयमा काम नगर्ने, अनुकूल वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेको छ । यसका विरुद्ध हामी दृढ रूपमा उभिन्छौं,” उनले भने ।
नियमन आवश्यक रहेको उल्लेख गर्दै पाण्डेले समस्याको मूल कारण पहिचान गरेर मात्र प्रभावकारी उपाय खोज्नुपर्नेमा जोड दिए ।
“नियमन त जरुरी छ, तर सरकारले कहाँ र के समस्या छन् भन्ने स्पष्ट बुझेर मात्रै कदम चाल्नुपर्छ । सामाजिक सञ्जाल बन्द गरियो भने देश नै अस्तव्यस्त हुने खतरा हुन्छ, यो कुरा सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,” उनले भने ।