© २०२३
काठमाडौं, १९ भदौ ।
काठमाडौं उपत्यकामा आजबाट विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ ।
बसन्तपुरस्थित हनुमानढोकामा यःसी अर्थात लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । आज बिहान शुभ साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिंगो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ ।
हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइने गरिन्छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । भाद्र २१ इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ ।