© २०२३
काठमाडौं, १९ भदौ ।
भारतका अनुभवी लेग स्पिनर अमित मिश्राले करिब २५ वर्ष लामो खेलजीवनपछि सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
उनले बिहीबार जारी वक्तव्यमा बारम्बारको चोट र नयाँ पुस्तालाई अवसर दिनुपर्ने कारण देखाउँदै खेल जीवनलाई बिदा लिएको बताएका छन् ।
मिश्राले भारतका लागि २२ टेस्ट, ३६ एकदिवसीय र १० टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । यस अवधिमा उनले क्रमशः ७६, ६४ र १६ विकेट लिएका थिए ।
सन् २००३ मा बंगलादेशमा भएको त्रिकोणात्मक सिरिजमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले, २००८ मा मोहालीमा अष्ट्रेलियाविरुद्ध पहिलो टेस्ट खेल्दा पाँच विकेट हात पारेका थिए ।
उनको सम्झनलायक प्रदर्शनमध्ये २०१३ मा जिम्बाब्वेविरुद्ध पाँच खेलको सिरिजमा १८ विकेट लिनु हो, जसले उनलाई जवागल श्रीनाथको रेकर्डसँग बराबरी गरायो ।
त्यसैगरी, २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा १० विकेट लिँदै भारतलाई उपविजेता बनाउन योगदान गरेका थिए । २०१७ पछि उनको अन्तर्राष्ट्रिय करियर रोकिए पनि उनले घरेलु क्रिकेट र आईपीएलमा निरन्तर खेले ।
सन् २०२४ मा लखनउ सुपर जायन्ट्सका लागि राजस्थान रोयल्सविरुद्ध खेलेको खेल उनको अन्तिम प्रतिस्पर्धात्मक क्रिकेट रह्यो ।
मिश्राले आईपीएलमा १६२ खेलमा १७४ विकेट लिँदै सातौँ सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनी आईपीएलमा तीन फरक टोलीका लागि तीनवटा ह्याट्रिक लिन सफल हुने एक मात्र बलर पनि हुन् ।
सन्यासपछि कोचिङ, कमेन्ट्री र युवा खेलाडीलाई मार्गदर्शनमार्फत क्रिकेटसँग निरन्तर जोडिरहने चाहना व्यक्त गर्दै उनले सामाजिक सञ्जाल र युट्युबमार्फत फ्यानहरूसँग सम्पर्कमा रहने जनाएका छन् ।