© २०२३
काठमाडौँ, १९ भदौ ।
प्रतिनिधि सभामा आज कार्यसूचीमा राखिएको संवैधानिक परिषद् सम्बन्धी विधेयक अघि नबढ्ने भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेबिच सहमति बनेपछि विधेयक कार्यसूचीबाट हटाइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरणका लागि पुगेको विधेयक पुनर्विचार गर्न भन्दै फिर्ता पठाउँदा दिएका सन्देशलाई कसरी सम्बोधन गर्ने भन्नेबारे दुई दलका नेताबिच निरन्तर छलफल भइरहेको छ । यहीबिच विधेयक कार्यसूचीमा समावेश भए पनि अघि बढ्न सकेन ।
काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने, “आज यो विधेयक कार्यसूचीबाट हट्छ, अघि बढ्दैन ।”
विधेयक १२ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको थियो । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट पारित भएपछि गत ३१ असारमा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।
तर राष्ट्रपति पौडेलले संविधानको मर्म र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको भन्दै ८ साउनमा विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएका थिए ।
संविधानको धारा ११३ अनुसार, पुनर्विचारपछि प्रतिनिधि सभाले विधेयक जस्ताको तस्तै वा संशोधनसहित पारित गरी पठाएमा राष्ट्रपतिले १५ दिनभित्र अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।