© २०२३
बर्दिया, १९ भदौ ।
बर्दियाको गेरुवा गाउँपालिका–२, बनघुस्रास्थित तटबन्ध कटान सुरु भएपछि अस्थायी तटबन्धनको काम सुरु भएको छ । स्थानीय बासिन्दा, सुरक्षा निकायका टोली र जनप्रतिनिधिहरू अस्थायी तटबन्ध निर्माणमा जुटेका हुन् ।
करिब ३ सय देखि ४ सय जनाको सहभागितामा सुरु गरिएको या काममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दाको हातेमालो छ ।
गेरुवा गाउँपालिका–२ को बनघुस्रा क्षेत्रबाटै गत वर्षदेखि नदी कटान सुरु भएको थियो । यस वर्षको असार र साउन महिनामा आएको अविरल वर्षासँगै नदीको बहाव तीव्र हुँदा पुरानो तटबन्ध कमजोर बनेको हो ।
भेरी नदीको धार लगातार बदलिँदै जाँदा यसले बस्ती र खेतीयोग्य जमिनलाई जोखिममा पारेको छ । स्थानीय बासिन्दा विष्णु थारुका अनुसार, “हामीले तटबन्धकै छेउमा खेती गरेका थियौँ, तर नदीले धमाधम कट्दै लगेपछि खेत डुबानमा पर्न थाल्यो । अहिले त घरसमेत बगाउने डर छ ।”
कटानले सङ्कट बढाएपछि स्थानीय वासीहरूले तत्काल प्रतिक्रिया स्वरूप मानव शृङ्खला बनाएर तटबन्ध बचाउने प्रयास सुरु गरे । यस अभियानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली पनि खटिए ।
नेपाली सेनाले समेत मेसिनरी उपकरण र मानव बलमार्फत सहयोग पु¥याएको छ । गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण थारूले भने, “तटबन्ध बचाइएन भने बस्ती मात्र होइन, सयौँ बिगाहा खेत डुब्ने खतरा छ ।
त्यसैले हामी सबैलाई सँगै लिएर तत्काल अस्थायी तटबन्ध बनाउने कार्यमा जुटेका छौँ ।”यस कार्यलाई प्रभावकारी बनाउन विभिन्न निकायले आ–आफ्नो तर्फबाट स्रोत उपलब्ध गराएका छन् ।
सिँचाइ व्यवस्थापन कार्यालय, राजापुरले तटबन्ध निर्माणका लागि बोरा, डोरीको जाली र अन्य सामग्री उपलब्ध गराएको छ । भने गेरुवा गाउँपालिका जेसिवि र ट्याक्टर उपलब्ध गराई माटो तथा बालुवा ढुवानीको काम सहज बनाएको छ ।
तटबन्ध निर्माणमा खटिने श्रमिक र स्वयंसेवकलाई खाजा पनि उपलब्ध गराएको छ ।भने स्थानीय समुदायका पुरुष, महिला, युवा र वृद्ध सबै जनाले शारीरिक श्रममार्फत तटबन्ध निर्माणमा प्रत्यक्ष सहभागिता जनाएका छन् ।गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीका अनुसार, “सरकारका स्रोत मात्र पर्याप्त हुँदैनन् ।
स्थानीयको हातेमालो र आत्मीय सहयोगले मात्र यस्तो सङ्कटको सामना गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो । अस्थायी तटबन्ध निर्माणमा दैनिक तीनदेखि चार सयसम्म मानिस खटिन्छन् । र कोही बोरा भर्ने काममा व्यस्त हुन्छन् ।
कोही बालुवा र माटो ढुवानी गर्ने गर्छन् । कोही तटबन्धमा बोरा थुपार्ने र जाली बाँध्ने काम गर्छन् । युवा स्वयंसेवक समितिका संयोजक रमेश थारु भन्छन्, “यो हाम्रो गाउँ हो, यसलाई बचाउने जिम्मा पनि हाम्रो हो । प्रहरी, सेना र जनप्रतिनिधिसँगै मिलेर काम गर्दा सबैको आत्मबल बढेको छ ।”
अस्थायी तटबन्ध बनाएको मात्रले दीर्घकालीन समाधान नहुने प्रस्ट छ । भेरी नदीको वेग अत्यधिक भएकाले अस्थायी संरचना कति बेला बगाउँछ भन्ने निश्चित छैन ।इन्जिनियर टंकर रोकायका अनुसार“अस्थायी तटबन्ध तत्कालको जोखिम न्यूनीकरणका लागि मात्र हो । दीर्घकालीन समाधानका लागि स्थायी संरचना आवश्यक हुन्छ ।
नदीलाई नियन्त्रणमा राख्ने वैज्ञानिक उपाय प्रयोग नगरेसम्म कटान पुनः हुने खतरा यथावत् रहन्छ ।” ‘गेरुवा गाउँपालिका भेरी नदीको कटानले बारम्बार पीडित हुने क्षेत्र हो । विगतमा पनि ठुला–ठुला बस्ती विस्थापित भएका थिए । २०६८ सालमा आएको बाढीले गेरुवाका सयौँ घर बगाएको थियो ।
त्यस्तै २०७१ सालको बाढीमा धान बाली र बस्ती डुबानमा परेपछि स्थानीयलाई वर्षौँदेखि आर्थिक क्षति खेप्नु परेको छ । र २०७७ सालमा पनि बनघुस्रातर्फकै कटानले ठुलो जमिन नष्ट गरेको थियो । यस पटक पनि त्यस्तै जोखिम दोहोरिने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधिहरूले स्थलमै पुगेर निरीक्षण गरेका छन् ।
वडाध्यक्षदेखि गाउँपालिका अध्यक्षसम्म सबै उपस्थित भएर जनतालाई प्रोत्साहन गरेका छन् । गाउँपालिका अध्यक्ष छविलाल चौधरी भन्छन्, “यो तटबन्ध हाम्रो जीवन रक्षासँग जोडिएको छ । हामीले तत्काल आवश्यक उपकरण र स्रोत जुटाएका छौँ । तर दीर्घकालीन समाधानका लागि सङ्घीय र प्रदेश सरकारसँग बजेट माग गर्नेछौँ ।”
प्रदेशसभा सदस्य धर्म चौधरीले भने, “हामीले प्रदेश सरकारमार्फत स्थायी तटबन्ध निर्माणका लागि पहल गरिरहेका छौँ । यस्ता अस्थायी उपाय मात्रले पुग्दैन, दीर्घकालीन संरचना चाहिन्छ ।” तटबन्धमा खटिएका सुरक्षाकर्मीहरूले स्थानीयको आत्मबल बढाएको छ । नेपाल प्रहरीको सुरक्षा र व्यवस्थापनमा खटिएका छन् ।
सशस्त्र प्रहरी बल तटबन्ध निर्माणमा प्रत्यक्ष सहभागिता जनाएका छन् ।नेपाली सेना मेसिनरी उपकरण सञ्चालन र सामग्री व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।सशस्त्र प्रहरी बटालियनका प्रमुख डीएसपी राजेन्द्र बिष्टले भने, “हामी जनताको जीवन रक्षाको लागि यहाँ खटिएका हौँ । तटबन्ध निर्माणमा हाम्रो जनशक्ति सक्रिय रूपमा काम गरिरहेको छ ।”
स्थानीय गोमति थारुका अनुसार, “घर–परिवारलाई बचाउने जिम्मा महिलाले पनि बराबरी रूपमा लिनुपर्छ । हामीले बोरा भर्ने, दाउरा काट्ने, खाजा पकाउने जस्ता काम गरेर सहयोग गरिरहेका छौँ ।” गाउँपालिकाले श्रमिक र सुरक्षाकर्मीलाई सुका खाजाको व्यवस्था गरेको छ । चिउरा, दालमोठ, बिस्कुट, पानीजस्ता सामग्री उपलब्ध गराइएको छ ।
स्थानीयले समेत फलफूल, तरकारी र दूधजस्ता सामग्री उपलब्ध गराएका छन् । युवाहरूले खाजा वितरण गर्ने जिम्मा लिएका छन् । उनीहरूको भनाइमा, “खाजा सानो सहयोग भए पनि यस्तो कठिन समयमा ठुलो प्रेरणा हो ।”
अस्थायी तटबन्ध निर्माणपछि पनि समस्या समाधान हुने छैन । स्थानीयवासीको मुख्य माग स्थायी तटबन्ध हो । स्थायी तटबन्ध निर्माण, कटान रोक्ने प्राविधिक अध्ययन, नदी व्यवस्थापन योजना र बजेट सुनिश्चितता गरे मात्र बढीबाट बच्नको लागि समाधान हुन सक्छ । यदि यी माग पूरा भएनन् भने हरेक वर्ष स्थानीयलाई यस्तै सङ्कट झेल्नुपर्ने अवस्था रहनेछ ।
तटबन्ध कमजोर बनेर नदी पसेमा बनघुस्राका २ सय भन्दा बढी घर डुबानमा पर्नेछन् । त्यस्तै, करिब ४ सय बिगाहा खेतसमेत पूर्ण नष्ट हुने खतरा छ । कृषक रामलाल थारूका अनुसार, “हामीले लगाएको धान अहिले राम्रो अवस्थामा छ । तर तटबन्ध फुटे भने सारा खेत बगाएर लैजानेछ । हाम्रो पूरै वर्षको मेहनत खेर जानेछ ।”
गाउँपालिका र प्रदेशले मात्र यो समस्या समाधान गर्न नसक्ने भएकाले सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको छ ।बर्दियाका प्रतिनिधिसभा सांसदले सङ्घीय संसद्मा यो मुद्दा उठाइसकेका छन् । सांसद लालविर थारुका अनुसार, “हामीले भेरी नदी नियन्त्रणका लागि दीर्घकालीन बजेट माग गरेका छौँ । तर अहिलेसम्म पर्याप्त पहल भएको छैन ।”