© २०२३
काठमाडौँ ।
नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाले अब दुई तिहाइ अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रज्ञा भवन, कमलादीमा आयोजित अखिल नेपाल महिला सङ्घ ( क्रान्तिकारी ) को सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले पुरुषको ठुलो हिस्सा बिदेसिएका कारण महिलाको जिम्मेवारी बढेको उल्लेख गरे ।
“महिलाले आधा आकाश मात्र होइन, दुई तिहाइ आकाश ओढेका छन् । दुई तिहाइ पुरुष विदेशमा छन्, एक तिहाइ मात्र नेपालमा छन् । अब महिलाले ३३ प्रतिशत अधिकारका लागि होइन, दुई तिहाइ अधिकारका लागि लड्नुपर्छ,” प्रचण्डले भने ।
उनले जनयुद्धमा ५० प्रतिशतभन्दा बढी महिलाको सहभागिता नभएको भए सङ्घीय गणतन्त्र सम्भव नहुने दाबी गरे । महिलाको त्याग, तपस्या र योगदानकै आधारमा अहिलेको व्यवस्था स्थापित भएको जिकिर गर्दै प्रचण्डले प्राप्त उपलब्धि समाप्त गर्न प्रतिगामी षड्यन्त्र भइरहेको आरोप लगाए ।
त्यस्ता षड्यन्त्रविरुद्ध युद्धकालमा जस्तै महिलाले सक्रिय साथ दिनुपर्ने उनले आग्रह गरे ।