© 2026
काठमाडौँ , १८ भदौ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ । मंगलबार १९.८९ अंकले घटेको नेप्से बुधबार थप १५.६४ अंकले घटेर २७२६.३३ अंकमा पुगेको हो ।
बुधबार अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक घटेको हो । यद्यपि कारोबार रकम भने मंगलबारको तुलनामा केही बढेको छ ।
पछिल्लो समय सेयर कारोबार उधारोमा गर्ने प्रवृत्ति बढेसँगै बजार अस्थिर बनेको देखिन्छ । उधारोमा सेयर खरिद गर्ने र ब्रोकरको दबाबमा बिक्री गर्नुपर्ने अवस्थाले बजारमा धितोपत्र आपूर्ति बढाएको छ । यही कारणले पनि सूचकमा सुधार आउन सकेको छैन ।
बुधबार नेप्सेमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । समूहगत परिसूचकमा व्यापार ३.१८ अंक र सामूहिक लगानी कोष ०.०४ अंकले मात्र वृद्धि भएको छ। बाँकी सबै समूह घटेका छन् ।
तीमध्ये बैंकिङ ७.९४, विकास बैंक ४९.२२, वित्त १८.३६, होटल ६५, जलविद्युत ३२.४३, लगानी ०.५९, जीवन बीमा ७२.५९, उत्पादनमूलक ३०.१०, लघुवित्त ३५.१४, निर्जीवन बीमा ४९.२९ र अन्य ७.२८ अंकले घटेका छन् ।
बुधबार नेप्सेमा ३२६ कम्पनीको ६८ हजार ५९४ कारोबारमार्फत १ करोड १३ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल कारोबार रकम ४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यो कारोबार रकम मंगलबारको ४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी हो ।
मंगलबार भने ३२३ कम्पनीको ८९ हजार ७७५ कारोबारमार्फत १ करोड ५ लाख ३५ हजार कित्ता सेयर किनबेच हुँदै ४ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो ।