© २०२३
लमही, १८ भदौ ।
दाङका स्थानीय तहबिच गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम भएको छ ।
जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहहरूले सम्पन्न गरेका कामको मूल्याङ्कन गर्दा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम भएको हो ।
लिजा र एफआरए, पुँजीगत खर्चको प्रतिशत, वित्तीय अनुशासन तथा प्रस्तुतीकरणलाई आधार मानेर गरिएको मूल्याङ्कनमा राप्ती गाउँपालिकाले ५० पूर्णाङ्कमध्ये ४०.५ अङ्क प्राप्त गरेको छ ।
त्यस्तै, घोराही उपमहानगरपालिकाले ३६.३३ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ भने बबई गाउँपालिकाले ३६.१६ अङ्कसहित तेस्रो स्थान प्राप्त गरेको छ ।
प्रथम, दोस्रो र तेस्रो स्थानमा रहेका स्थानीय तहलाई बुधबार सम्पन्न जिल्ला समन्वय समितिको नवौँ जिल्ला सभामा सम्मान गरिएको छ ।