© 2026
नवलपरासी, १८ भदौ ।
जिल्लाको पाल्हीनन्दन–६ स्थित प्राचीन नन्दन नगर र नन्दन तालको व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउनमा निजी क्षेत्रले पनि चासो बढाएको छ ।
जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको विकास गरी आर्थिक क्षेत्रको रूपमा रूपान्तरण गर्ने उद्देश्यले निजी क्षेत्रका प्रतिनिधित्व गर्ने संस्था उद्योग वाणिज्य सङ्घले उक्त स्थानको भ्रमण गर्दै सरोकारवालासँग छलफलका लागि गृहकार्य अगाडि बढाएको हो ।
सय विघा क्षेत्रफलमा फैलिएको प्राचीन नन्दनतालसँगै जोडिएको बौद्धकालीन प्राचीन नन्दन नगरलाई पर्यटकीय गन्तव्य बनाउन ठुलो सम्भावना बोकेको सङ्घका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताए ।
‘यसको विकासले मात्रै हजारौँको रोजगारी सृजना हुन्छ,’ उनले भने–‘यसले हाम्रो जिल्लाको गौरव बढाउँछ, विश्व सम्पदामा जान सक्ने सम्भावना बोकेको यो स्थल हो,’ उनले थपे–‘तर यसका लागि स्थानीय देखी जिल्ला, प्रदेश सरकार र सङ्घीय सरकारले काम गर्नुपर्ने आवश्यक देखिएको छ ।’
गत वर्ष उक्त स्थानको विकासका लागि गाउँपालिकाले जिल्लास्थित सरोकारवाला निकाय तथा जनप्रतिनिधिसँग विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गर्दै छलफल गराएको थियो ।
सो कार्यक्रममा गरिएको प्रतिबद्धता अनुसार नै यस क्षेत्रका सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य (सांसद) तथा पूर्व कानुन मन्त्री ध्रुव बहादुर प्रधानको पहलमा तीन करोड बजेट समेत सङ्घीय सरकारले विनियोजन गरेको छ ।
ती रकम खर्चेर यस क्षेत्रको विकासमा सबै दल र सङ्घसंस्था सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता समेत उनले औँल्याएका थिए । विगतमा पनि एक करोड बजेट राष्ट्रपति चुरे कार्यक्रमबाट विनियोजन भई टेन्डर समेत भएको तर सहजीकरण हुन नसक्दा सो बजेट काम नभएर फ्रिज भएर गएको हुँदा अहिलेको तिन करोड बजेट खर्चेर काम गर्नु पूर्व नै सो क्षेत्रको विकासका लागि साझा धारणा बनाउन आवश्यक देखिएको छ ।
बजेट विनियोजन भएकोबारे जानकारी गराउँदै गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले सबै मिलेर जानुपर्ने र सबैको विकासका लागि सबै जुट्नुपर्ने आवश्यकता बताएका थिए । ‘नन्दन नगरमा त पालिका र वडा स्तरबाट काम भइरहेको छ,’ उनले भने–‘तर नन्दन तालको अतिक्रमण खाली गराई तालको स्वरूप प्रदान गर्नु पर्ने आवश्यकता छ ।’
ती स्थानको पहिचान गराउन योजनाबद्ध तरिकाले सो वडाका वडाध्यक्ष कृष्ण चन्द्र यादव लागि परेको बताए । सो स्थानको विकास, प्रवर्द्धन र पहिचान गराउनका लागि ताल व्यवस्थित गर्ने र नन्दनगरमा रहेका प्राचीन इनार लगायतको क्षेत्रमा पुरातात्त्विक उत्खनन गराई खुल्ला गर्ने तयारीमा समेत काम भइरहेको बताएका थिए ।
अहिले वडामा आउने जोसुकै नयाँ व्यक्तिलाई उनले सो प्राचीन स्मारक स्थल देखाउन लागि हाल्छन् । विभिन्न क्षेत्रबाट सो स्थानको विकासका लागि आर्थिक स्रोत आउँदा विगतमा सदुपयोग गर्न नसकिएको प्रति दुःख व्यक्त गर्दै उनले अब यस प्राचीन पहिचान भएका स्थानको विकास प्रवर्द्धन र प्रचारप्रसारमा कुनै कसुर बाकी नराख्ने गरी प्रतिबद्ध भई काम गरिहरेको स्थानीयवासीले पनि बताएका थिए ।
सो क्षेत्रको विकासका लागि उनले नगर र ताल व्यवस्थितका लागि छुट्टाछुट्टै ब्यवस्थान समिति समेत बनाई सकेको बताएका थिए । गत वर्ष पहिचानमा आएको नन्दन नगर र विगत वर्ष देखी नै पहिचानमा रहेको नन्दनताललाई पर्यटकीय गन्तव्य बनाउने तयारी भइरहेको पाल्हीनन्दन गाउँपालिकाले जानकारी गराएको थियो ।
स्मारक स्थलको पहिचान भएकोले यस क्षेत्रमा भूभौतिक सर्वेसँगै उत्खनन आवश्यक रहेको अवलोकन गर्न पुगेका पुरातत्त्व जानकार नारद यादवले बताएका थिए ।
पुरातत्त्व जानकार यादवले सो स्थान पुरातात्त्विक र ऐतिहासिक बस्तुहरू फेला परेको ती बस्तुहरू प्राचीन कोलिय गणराज्यको राजधानीमा फेला पर्ने बस्तुसँग मिल्दो जुल्दो भएको भन्दै सङ्कलन गरेर पुरातत्त्व विभागमा समेत पठाएका थिए ।
अहिले सो स्थान बौद्धकालीन एक प्राचीन सिटी हुन सक्ने अनुमान बौद्ध अध्यक्ष डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका थिए । डा.श्रीवास्तवका अनुसार बौद्ध साहित्यहरूमा कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगर (पण्डितपुर) नजिकै एक मङ्गल पोखरी भएको कुरा उल्लेख पाइन्छ ।
जहाँ कोलिय राजपरिवारका सदस्यहरू आनन्द लिन जाने गर्थे । ती पोखरी सुरक्षित, रमणीय, शान्त र मनोरम दृश्य थियो । सोही पोखरी (ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलवस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलवस्तु फर्केका थिए ।
आन्दन गर्ने पोखरी (ताल) मा मङ्गल सन्देश प्राप्त भएको हुँदा मङ्गल पोखरी (ताल) पनि भन्न थालिएको हो । पछि सोही मङ्गल पोखरी अर्थात् ताल नन्दन ताल भनिए होला ।
सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरूको स्थान पछि नगरको स्वरूप प्राप्त गरेको हो । अहिले ताल नजिकै रहेको पुरातात्त्विक स्थल प्राचीन नन्दन सिटी (नगर) हो । नगर नजिकै पडरी गाउँ छ । जुन गाउँ क्षेत्रमा आनन्द गर्न आउने कोलिय राजपरिवार, सैनिक, अन्य नागरिकहरू रात्रि बस्ने क्याम्प खडा गर्ने प्रचलन हुने गरेको थियो ।
जसलाई स्थानीय भाषामा पडाव पनि भन्ने गरिन्छ । सोही पडाव राख्ने स्थान नै पडरी गाउँ भएको समेत अनुमान गर्न थालिएको छ । त्यसैगरि सैनिक बस्ने स्थान सनई गाउँ भएको दाबी स्थानीयले गर्ने गरेका छन् ।
अहिलेको सोही इतिहासलाई झल्काउने गरी कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) बाट आनन्द गर्न जसरी राजपरिवारका सदस्य, सैनिक र नागरिकहरू आउने गर्थे ।
यसले प्राचीन संस्कृतिलाई पुनः पुनरुत्थान हुन्छ, वडा अध्यक्ष यादवले भने, सो सांस्कृतिक उत्थानले पर्यटन क्षेत्रको रूपमा पहिचान गराउने र यो प्राचीन नन्दन नगरलाई देश विदेशसम्म प्रचारप्रसार गर्नमा मद्दत पुग्ने छ ।