Butwal Today

आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

१८ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १८ भदौ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार दिउँसो र राति देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको दैनिक मौसम बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । विशेषगरी लुम्बिनी प्रदेशसहित पहाडी भू–भागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

रातिको पूर्वानुमानअनुसार कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, कोसी प्रदेशको तराई क्षेत्र र बागमती प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।