© २०२३
काठमाडौँ ।
फेसबुकसहित सामाजिक सञ्जाललाई अनिवार्य दर्ता गर्न सरकारले दिएको म्याद आज सकिँदैछ । भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै सरकारले नेपालमा सञ्चालनमा रहेका वा नेपालमा प्रवेश गर्ने तयारी गरिरहेका सामाजिक सञ्जाललाई सात दिनभित्र दर्ता गर्न निर्देशन दिएको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार दर्ता प्रक्रिया पूरा नगर्ने सञ्जाललाई बन्द गरिने चेतावनीसहित सूचना जारी गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार दिउँसो पौने ४ बजेसम्म कुनै पनि संस्था दर्ताका लागि सम्पर्कमा आएका छैनन् ।
“अहिलेसम्म कसैले सम्पर्क गरेका छैनन्,” उनले भने, “राति १२ बजेसम्म समय बाँकी छ । संस्थाहरूले एउटा इमेलमार्फत जानकारी दिए भने बन्द हुँदैन, नत्र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा जान्छ । ”
यसअघि सरकारले टेलिग्रामलाई नेपालमा निष्क्रिय बनाएको थियो । त्यसअघि टिकटक प्रतिबन्धित भए पनि सूचीकृत भएपछि पुनः सञ्चालनमा आएको हो । अहिले भने सरकारको दायरामा फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्टाग्रामलगायत प्रमुख सामाजिक सञ्जाल आएका छन् ।
गत बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न २०८० सालको निर्देशिका र सर्वोच्च अदालतको आदेशका आधारमा दर्ता अनिवार्य गरिएको जानकारी दिएका थिए । तोकिएको समयसम्म दर्ता नगर्ने वा सम्पर्कसमेत नगर्ने सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराइने चेतावनी दिइएको छ ।