© २०२३
नेपालगन्ज, १८ भदौ ।
६२ वर्षको उमेरमा कतिपय मानिस आफ्ना नाती–नातिनासँग रमाइरहेका हुन्छन् । कतिपयले आफ्ना सम्पत्तिको घमण्ड बोकेका हुन्छन् । तर बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरधुईयाका गेंदु थारु भने फरक छन् ।
न सन्तान छन्, न ठुलो घरजग्गा । तर उनको जीवनभित्र एक असीमित मन छ । माया, दया र करुणा । यसले उनलाई ७० भन्दा बढी छाडा गाई गोरुको अभिभावक बनाएको छ ।
१५ वर्षअघि उनले गाउँमा चार वटा गाई गोरु पालेर सुरु गरेका थिए । तर सडक छेउछाउमा, गाउँको कुनाकाप्चामा छाडिएका, बुढा, रोगी वा दूध दिन छाडेका गाई देख्दा उनको मन रोइरहन्थ्यो । “जहाँ देखे पनि यस्ता बेसहारा गाई, मलाई माया लाग्छ । म आफैँ ल्याएर आफ्नै गाईसँग राख्छु,” उनी भन्छन् ।
हाल उनीसँग ७० भन्दा बढी गाई गोरु आश्रित छन् । गेंदु अहिले राप्ती सोनारी–५ को आली नगरस्थित वन छेउको गाउँमा बस्छन् । खुला आकाशमुनि, काठको सामान्य बारभित्र आफ्ना गाई–गोरु राखेका छन् ।
बिहानै आँखा खुल्ने बित्तिकै उनको पहिलो काम हुन्छ गोबर सफा गर्ने, घाँस–पराल हाल्ने अनि गाईलाई जङ्गलतिर चराउन लैजाने । बेलुका फर्काउँछन्, फेरि स्याहार गर्छन् । दिनभरको थकाइ हुँदा पनि उनको मुटु हलुका हुन्छ — किनकि उनी भन्छन्, “शरीर थाक्छ तर मन सन्तुष्ट हुन्छ ।”
गेंदु र उनकी पत्नीका सन्तान छैनन् । तर उनी भन्छन्, “शरीरका सन्तान छैनन्, यी गाई गोरु नै मेरा सन्तान हुन् । यिनकै स्याहारमा जीवन बित्दै छ ।” त्यो वाक्य बोल्दा उनका आँखामा चम्किने आत्मसन्तोष शब्दले भन्दा शक्तिशाली हुन्छ ।
यति धेरै गाई गोरु पालेर उनलाई आर्थिक फाइदा भने खासै छैन । वर्षमा ३–४ ट्रली गोबर मल बेचेर मात्र प्रति ट्रली करिब ६ हजार रुपैयाँ पाउँछन् । त्यो पैसाले त घाँस–पानी पनि पुग्दैन । तर उनी नाफा–नोक्सानको हिसाब राख्दैनन् । उनी भन्छन्, “मुनाफाका लागि होइन, पशु प्रतिको माया हो ।”
यो १५ वर्षको यात्रामा उनले कुनै सरकारी वा गैरसरकारी संस्थाबाट सहयोग पाएका छैनन् । आफैँले जङ्गल र खेतबारीबाट घाँस काट्छन् । बेसहारा भएर भोक भोकै सडकमा मर्न नपरोस् भनेर उनले सबैलाई आफ्नै काखमा समेटेका छन् ।
“गोरु जोत्न नसक्ने भए, गाई दूध दिन छाडेपछि मानिसले छोडिदिन्छन् । तर यिनलाई बचाउने जिम्मा कसले लिने ?” उनी प्रश्न गर्छन् । गेंदु थारुजस्ता व्यक्तिहरू हाम्रो समाजका मौन नायक हुन् ।
नत उनी अखबारका ठुला हेडलाइनमा आउँछन्, नत पुरस्कार–सम्मान पाउँछन् । तर उनी जीवनको साँचो धर्म निभाइरहेका छन्—पशु प्रेम र मानवीय करुणाको धर्म ।
तर उनको यो कार्य देख्दा जो कोहीको मनमा थुप्रै प्रश्न अवश्य उब्जिन्छ—के राज्यले यस्ता सेवकलाई साथ दिनु पर्दैन ? के स्थानीय सरकारको दायित्व होइन र, यस्ता मौन नायकलाई न्यूनतम सहयोग उपलब्ध गराउने ? गेंदुको कथा एउटा व्यक्तिको मात्र कथा होइन, यो हाम्रो समाजको पनि ऐना हो ।
जहाँ हामी सन्तान, सम्पत्ति, पद–प्रतिष्ठामा रमाउँछौं, त्यही समाजमा कोही आफ्नो जीवनलाई अरूको सेवा र मायामा समर्पित गर्छ ।
गेंदु थारुका हातमा छाला फुटेका छन्, शरीर थाकेको छ, तर मुटु अझै विशाल छ । उनको जीवनको सरल वाक्य नै उनको पहिचान हो— “मसँग केही छैन, तर यी गाई गोरुलाई माया दिन्छु । यही मेरो धन हो ।”
उनले हाल सम्म गाई गोरु व्यवस्थापनको लागि कसैसँग हात जोडेका छैनन् । छाडा गाई गोरुलाई सङ्कलन गरेर राखेको कुरा स्थानीय जनप्रतिनिधिलाई पनि थाहा नभएको होइन ।
तर गेंदुले हाल सम्म सहयोग नमागेकाले सहयोगका लागि कसैले चासो नदेखाएको राप्ती सोनारी ५ का वडा अध्यक्ष तथा गेंदुका आफ्नै छिमेकी समेत रहेका झगरु थारुले बताए ।