© २०२३
काठमाडौँ, १८ भदौ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजना अन्तर्गत दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ ।
जिल्ला अदालत काठमाडौँमा करिब दुई वर्षदेखि विचाराधीन रहँदै आएको उक्त मुद्दा बुधबारदेखि अन्तिम बहसका लागि पेशी तोकिएको हो । पछिल्लो समय साक्षी बयान र बकपत्र प्रक्रिया पूरा भएपछि यो मुद्दालाई नियमित साप्ताहिक पेशी सूचीमा राखिएको हो ।
यस प्रकरणमा तत्कालीन जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रारम्भिक प्रमाणका आधारमा पक्राउ परेकाहरूमाथि कसुर देखिँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
पछिल्लो चरणमा केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटेका छन् भने बाँकी अहिले पनि थुनामै रहेका छन् ।
यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८०र ८१ मा मुद्दाले प्राथमिकतै पाएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, किर्ते, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधका अभियोगमा १० जेठ २०८० मा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।