© २०२३
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भारतसँग भएको सम्झौताबारे नेपालको अडानमा चीन पन्छिन खोजेको गम्भीर आशंका व्यक्त गरेको छ ।
बुधबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले चिनियाँ राष्ट्रपतिले लिपुलेक प्रश्नमा पन्छिने खालको जवाफ दिएको दाबी गरे ।
सांसद बडूले भने, “यस संवेदनशील विषयमा मित्रराष्ट्र चीनका राष्ट्रपतिले सीमा विवाद नेपाल–भारतबीचको विषय भएको भन्दै आफू पक्ष वा विपक्षमा संलग्न नहुने जवाफ दिनुभएको छ । यस्तो जवाफलाई सकारात्मक मान्न सकिँदैन ।”
भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रधानमन्त्रीले लिपुलेकबारे विगतदेखि चलिआएको कूटनीतिक पहल र प्रेषित प्रोटेस्ट नोटहरूको आधारमा स्पष्ट रूपमा नेपालको अडान प्रस्तुत गरेको बडूले बताए ।
तर, प्रधानमन्त्रीले गम्भीरतापूर्वक उठाएको विषयमा चीनले पन्छिने शैलीमा जवाफ दिएको भन्दै उनले आपत्ति जनाए । “यसरी पन्छिने जवाफलाई हाम्रो सार्वभौमिकताप्रति अपेक्षित सम्मानको भाव प्रकट भएको मान्न सकिँदैन,” बडूको भनाइ थियो ।
सांसद बडूले चीनले नेपालसँग सधैं ‘एक चीन नीति’मा समर्थनको अपेक्षा गर्ने गरेको स्मरण गर्दै भने, “नेपालले पनि आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताको प्रश्नमा सोही स्तरको सम्मान पाउनुपर्ने स्वाभाविक अपेक्षा हुन्छ ।”
उनले प्रधानमन्त्री ओलीले लिपुलेक सम्झौताप्रति राखेको आपत्तिबारे चीनको परराष्ट्र मन्त्रालयको प्रेस नोटमा कुनै उल्लेख नै नभएकोप्रति पनि प्रश्न उठाए । बरु छलफलको एजेन्डा नै नभएको भनिएको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)’ मा नेपाल सहमत भएको कुरा विज्ञप्तिमा उल्लेख भएकोप्रति उनले शंका व्यक्त गरे ।
यस विषयमा प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले तत्काल स्पष्ट पार्नुपर्ने माग पनि सांसद बडूले राखे ।