© २०२३
नवलपरासी, १७ भदौ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले पार्टीका केही सदस्यहरूलाई पदमुक्त गरेको छ । प्रदेश सदस्य तथा महासमिति सदस्य विष्णु पोखरेल र विक्रम सिंह थापालाई सभापति अमर सिंह पुनले जिम्मेवारीबाट मुक्त गरेका छन् ।
केन्द्रले गरेको कारबाही अझै सेलाउन नपाउँदै प्रदेश कार्यसमितिले समेत धमाधम नेताहरूलाई पदमुक्त गरेको हुँदा पार्टीमा हल्ली–खल्ली मच्चिएको छ । पदमुक्तिको पत्र सार्वजनिक भएसँगै राजनीतिक छलफल बढेको छ ।
विष्णु पोखरेलले भने, “पदमुक्त गरिएको बारे मलाई कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । सङ्गठनको हितमा मैले जहिल्यै भूमिका निर्वाह गर्दै आएको छु । अब रुपन्देही–३ मा हुने चुनावमा पनि पार्टीलाई जिताउन काम गर्नेछु ।”
यस्तै, प्रदेश कार्यसमिति सदस्य विक्रम सिंह थापालाई एक महिनाअघि नै पदमुक्त गरिएको पत्र सार्वजनिक भएको छ । थापालाई गत साउन ११ गते नै जिम्मेवारीबाट मुक्त गरिएको भए पनि अहिलेसम्म गोप्य राखिएको थियो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले भने, “पार्टी पद्धतिमा नरहेको र नेतृत्वलाई असहयोग गरेको कारणले उनीहरूलाई पदमुक्त गरिएको हो। पदमुक्त हुनु र कारबाही हुनु एउटै होइन । पार्टीको जिम्मेवारीभन्दा बाहिर गएर साङ्गठनिक आचरण विपरीत व्यवहार देखाउनेहरूलाई आवश्यकताअनुसार मनोनीत वा पदमुक्त गर्न सकिन्छ ।”
प्रदेश कार्यसमितिको कार्यालयले सार्वजनिक गरेको पत्रमा नेपाली काँग्रेस विधान २०७१ (संशोधनसहित)को परिच्छेद ७ को धारा १३ (१) को उपधारा (१०) बमोजिम जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।
प्रदेश कार्यसमितिमा अन्य समूहको नेतृत्व भए पनि आफ्नै टिमका नेताहरूलाई पदमुक्त गर्नुले राजनीतिक शङ्का र चिन्ता उत्पन्न गरेको छ । यसले रुपन्देही–३ मा हुने आसन्न निर्वाचनमा पार्टीको जोखिम बढ्ने सम्भावना पनि रहेको छ ।
स्रोतका अनुसार, केन्द्रको निर्देशनअनुसार आफ्ना आधिकारिक उम्मेदवारलाई बाधा पुर्याउने भूमिका खेलेका कारण पदमुक्ति गरिएको हो । एकै समूह भित्र पनि नेताहरूको बिच बेमेल देखिएको र विभिन्न पक्षधर नेतृत्वका कारण विवाद उत्पन्न भएको पार्टी निकट स्रोतले जनाएको छ ।
यसैबिच, थापालाई पदमुक्त गरिएको विरोधमा कार्यकर्ताहरूले कपिलवस्तु पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।