© २०२३
काठमाडौँ, १७ भदौ ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना हुँदा बेपत्ता भएका दुई जना युवकमध्ये दुबैको शव फेला परेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, एक शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको छ भने अर्को शव पनि सोही खोलामा देखिएको जानकारी स्थानीयले दिएको उनले बताए ।
भदौ १५ गते गोसाइकुण्ड गाउँपालिका–६ ठाडे निवासी २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ धुन्चेबाट ठाडेतर्फ जाँदै गर्दा एएए–३८१७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए । त्यसपछि उनीहरू बेपत्ता भएका थिए ।
उनीहरू सम्पर्कविहीन भएपछि आफन्तजनले भदौ १७ गते बिहान जिल्ला प्रहरी कार्यालय रसुवामा गुमसुम व्यक्तिको निवेदन दिएका थिए । निवेदन प्राप्त भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा खटिएको थियो ।
श्रीनाथ गण धुन्चेस्थित चेकप्वाइन्टमा जडान गरिएको सीसीटीभी फुटेजमा उनीहरू भदौ १५ गते राति करिब १० बजे मोटरसाइकलमा धुन्चेबाट ठाडेतर्फ गएका देखिएको थियो । सोही आधारमा खोजी कार्य अघि बढाइएको थियो ।
घटनास्थलको प्रारम्भिक निरीक्षणका क्रममा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेको पाइएको छ । दुर्घटनाको कारण भने हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।