© २०२३
बुटवल, १६ भदौ ।
रुपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ अन्तर्गत मंगलबार भएको खेलमा कपिलवस्तु–११, कपिलवस्तु विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । यशोदा फुड्स प्रालिको मुख्य प्रायोजन, तिलोत्तमा नगरपालिकाको सहप्रयोजन तथा लिस्नु युवा क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलमा झरना स्पोर्टस क्लब, कुन्जलापुरलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएको हो ।
खेलमा झरनाका सुरज आलेले खेलको ४० मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए तर त्यो धेरै बेर टिक्न सकेन । कपिलबस्तुका विज्ञान गुरुङले दुई मिनेट अन्तरमा नै गोल गर्दैै खेल बराबरीमा ल्याए । निर्धारित समयमा थप गोल हुन नसक्दा खेल ट्राईबेकरमा धकेलियो । ट्राईबेकरमा झरनाका दुई खेलाडीले गोल गर्नबाट चुके । खेलमा उत्कृष्ट प्रदर्शन गरेका कपिलवस्तु–११ का कमल भट्टराई प्लेयर अफ दी म्याच घोषित हुदै नगद ५ हजार रुपैया तथा गिफ्ट ह्याम्परबाट पुरस्कृत भए ।
विहिबार गोर्खा ब्याईज स्पोर्टस क्लब बुटवल र वालिङ युनाईटेड स्याङजाका बिचमा पहिलो क्वाटरफाईनल खेल हुने छ । प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ तथा उपविजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक पदमबहादुर थापाले बताए । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्तालाई १२ हजार ५ सय, राइजिङ खेलाडीलाई १२ हजार ५ सय र प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, अनुशासित टिमलाई आकर्षक ट्रफी प्रदान गरिनेछ । भदौ १४ देखी २७ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब तिलोत्तमा, झरना स्पोट्र्स क्लब तिलोत्तमा, फर्साटिकर एफसी, फर्साटिकर, भैरहवा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर, सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४, सुपौली, अभिषेक चर्च, रजहर नवलपरासी, गोर्खा वोइज बुटवल, देवदह वोइज खैरेनी, वालिङ–११ वालिङ नगरपालिका, पाल्पा–११ पाल्पा, नवलपरासी–११ नवलपरासी र कपिलवस्तु–११, कपिलवस्तु गरी १२ वटा टिमको सहभागिता रहेको छ ।