© २०२३
बुटवल, १७ भदौ ।
गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं. ७ भुर्तुड्ड छापचौरले विभिन्न कारणले तराईमा बसाइसराइ गरेका वडावासीलाई बुटवलमै दुई दिने शिविर राखेर सेवा सुरु गरेको छ । गाउँबाट सहर बसाई सरेका आफ्ना वडावासीलाई गाउँकै सेवा दिने उद्देश्यले दुई दिने शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण घर जग्गाको तिरो बुझाउने, जन्म दर्ता विवाह दर्ता, मृत्यु प्रमाणित तथा वडाबाट जारी हुने सम्पूर्ण सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको गुल्मी कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष घनश्याम थापाले बताए ।
सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणमा व्यक्ति स्वयं अनिवार्य गरेकाले बुटवलमा शिविर सञ्चालन गरिएको उनको भनाइ छ । जनतालाई सजिलो सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
भुर्तुड्ड छापचौर तराई–सम्पर्क समाज र प्रिमो एजुकेसन एन्ड भिसा सर्भिसेस बुटवलको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा रुपन्देही कपिलवस्तु नवलपरासीबाट सेवा लिन आउनेको सङ्ख्या धेरै रहेको समर्पक समाजका अध्यक्ष सु मेजर राजकुमार कसीले जानकारी दिए ।
पहाडबाट बसाइँ सराइ गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको भन्दै अध्यक्ष केसीले यस्ता सेवाले जनतालाई ठुलो राहत मिलेको बताए ।
कार्यक्रममा भुर्तुड्ड छापचौर तराई सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष मनबहादुर थापा, उपाध्यक्ष फटिक केसी, सह कोषाध्यक्ष कुमार थापा, सागर केसी, विजय ढकाल लगायतले बोल्दै शिविरबाट धेरै भन्दा धेरैले सेवा लिने बताए ।
शिविरको पहिलो दिन ४० जनाले विभिन्न प्रकारका सेवाहरू लिएको वडा सदस्य बिसन शाहले जानकारी दिए ।