Butwal Today

सरकारले सुरु गर्यो दशैंको लागि खसी–बोका अनलाइन बुकिङ सेवा

१७ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, १७ भदौ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ ।

कम्पनीको खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडेलले आज बिहानदेखि अनलाइन बुकिङ खुला गरिएको जानकारी दिएका छन् ।

अनलाइन बुकिङ ३० भदौसम्म जारी रहनेछ । उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गई आफूलाई आवश्यक खसी, बोका वा च्याङ्ग्रा छनोट गर्न सक्नेछन् । बुकिङ गर्दा एकपटकमा अधिकतम १० वटा जनावर छनोट गर्न सकिने पौडेलले बताए ।

बुकिङका लागि उपभोक्ताले अग्रिम भुक्तानी गर्नुपर्नेछ । च्याङ्ग्राका लागि प्रति वटाको पाँच हजार रुपैयाँ र खसी तथा बोकाका लागि प्रति वटाको चार हजार रुपैयाँ अग्रिम शुल्क लाग्नेछ ।

पौडेलका अनुसार यो अग्रिम भुक्तानी हालका लागि बुकिङ सुनिश्चित गर्न मात्र हो । पशुको अन्तिम मूल्य भने तौलका आधारमा निर्धारण गरिनेछ । कम्पनीले २० देखि २५, २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० किलो तौल समूहमा जनावरहरू छनोट गर्ने विकल्प अनलाइनमा उपलब्ध गराएको छ ।

अन्तिम बिक्री मूल्य कम्पनीको सो समयमा लागु हुने दरअनुसार तौलको आधारमा तय गरिनेछ र अग्रिम भुक्तानी गरिएको रकम कुल बिलबाट घटाइनेछ ।

बुकिङ गरिएका खसी, बोका र च्याङ्ग्राको वितरण घटस्थापनादेखि सप्तमीसम्म गरिनेछ । अनलाइन बुकिङका क्रममा उपभोक्ताले आफूलाई पायक पर्ने र सहज हुने मिति छनोट गर्न सक्नेछन् ।

बुकिङ र भुक्तानी प्रक्रिया पूरा भएपछि उपभोक्तालाई एसएमएसमार्फत एक कोड र जनावर बुझिलिन आउने मिति सहितको जानकारी पठाइनेछ । उपभोक्ताले सो कोड लिएर तोकिएको मितिमा कम्पनीको बिक्री केन्द्रमा उपस्थित भई जनावर बुझ्न सक्ने व्यवस्था गरिएको छ ।

कम्पनीले यस वर्ष दुई हजार खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ । यस्तै, कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलमार्फत खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० रुपैयाँ छुट प्रदान गरिने पनि जानकारी दिइएको छ ।