Butwal Today

विगत ५ वर्षदेखि क्यान्सरसँग लडिरहेकी शान्ति दर्जीद्वारा सहयोगको लागि अपिल

१७ भाद्र २०८२, मंगलवार
अ+
अ-

बुटवल, १७ भदौ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी छन् । गत ५ वर्षदेखि चितवनको भरतपुरस्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको पीडा व्यक्त गरेकी छन् ।

क्यान्सरका कारण थलिएर असक्त अवस्थामा घरमा बिस्तारामा सुतिरहने अवस्थामा पुगेकी उनलाई घाँटीको क्यान्सरका कारण खान पिउन समेत समस्या भएको छ ।

परिवारका सदस्यहरूले बताए अनुसार धेरै वर्षअघि बाँयापट्टी घाँटीमा पलाएको सानो मासुको डल्लो देखिएको तर वास्ता नगरिएको बताए ।  सुरुमा केही दुःख नदिए पनि पछि बढ्दै गएर निकै ठुलो भएको र दुख्न थालेपछि उपचारका लागि विभिन्न अस्पतालहरू पुगेको शान्तिले बताइन् ।

त्यही मासुको डल्लो अर्थात् ट्युमरका कारण गम्भीर बिरामी भई बोल्न समेत कठिनाइ हुँदै गएको र आवाज समेत बन्द हुन थालेको भन्दै सञ्चार कर्मी समक्ष सहयोगको हारगुहार सहित अपिल गरेकी छन् ।

सबै मिडिया र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरि सहयोग जुटाई दिन र जीवन बचाई दिन उनले आग्रह गरेकी छन् ।

दैनिक ज्यालादारी काम गर्दै आएका श्रीमान्, दुई छोरा र दुई छोरीसहित परिवारको गुजारा चलाउँदै आएकी ५२ वर्षीया शान्ति दर्जीले उपचारको क्रममा २८ लाख खर्च भैसकेको बताइन् ।

महिनामा २ पटकसम्म लगातार ३ वर्ष किमो चढाएको उल्लेख गर्दै उनका श्रीमान् भिमबहादुर दर्जीले उपचारमा सबै सम्पत्ति सकिएको र चिकित्सकहरूका अनुसार अझै ५ देखी ६ लाखसम्म लाग्ने बताए ।

किमो चढाउँदा प्रत्येक पटक ५० हजारसम्म खर्च हुने गरेको बताउँदै उनले श्रीमतीको उपचारका क्रममा जीवनभर दुःख गरेर जोडेको २ कट्ठा १७ जग्गासमेत गुमाउनु परेको बताए ।

हुन त बुटवल १२ वडा कार्यालय, उपमहानगरपालिका, प्रदेश सरकार लगायतका विभिन्न निकाय र तहमा सहयोगको लागि धाउँदा केही रकम उपलब्ध नभएको हैन तर आफ्नै आर्थिक अवस्था कमजोर भएका कारण धाउन समेत कठिनाइ भएको दर्जी बताउँछन् ।

सबै सरकारी तथा गैरसरकारी निकाय र आम जनसमुदाय समक्ष सहयोगको अपिल गर्दै राष्ट्रिय वाणिज्य बैङ्क बुटवल शाखामा खाता खोलेको उनले जानकारी गराए । उनका अनुसार क्यान्सर पीडित श्रीमती शान्ति दर्जीको नाममा खाता नम्बर ३१२०१००२०८४८७०१० खाता रहेको छ ।