© २०२३
समाचार सारांशमा
सुस्ता र प्रतापपुर क्षेत्रलाई “केरा जोन” घोषित गरिए पनि अहिले उत्पादन भएको केरा बोटमै पाकेर नष्ट हुने अवस्था आएको छ ।
भैरहवा र नेपालगञ्ज भन्सार हुँदै दैनिक ८० मेट्रिक टन जति भारतीय केरा आयात भइरहेको छ ।
गत वर्ष ४५ रुपैयाँ प्रतिदर्जनमा बिक्री भएको केरा, यस वर्ष २० रुपैयाँ प्रतिदर्जनमा पनि बिक्री हुन नसकेको किसानको गुनासो ।
सुनवल, १७ भदौ ।
नवलपरासीमा केरा पकेट क्षेत्रकै केरा बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले सुस्ता र प्रतापपुरलाई केरा जोनको रूपमा विकास गरेर केरा खेती प्रवद्र्धन गर्न विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ तर केरा जोनमा उत्पादित केरा अहिले बोटमै पाकेर नष्ट हुने अवस्था सृजना भएको छ ।
उखु खेतीबाट पलायन भएका किसानहरू केरा खेतीतर्फ आकर्षित भएपछि सुस्ता र प्रतापपुर गाउँपालिकामा केरा खेती गर्ने किसानको संख्या ह्वात्तै बढेको थियो ।
भारतबाट सस्तोमा केरा आयात हुँदा स्थानीय उत्पादनले बजार पाउन नसकेपछि यस वर्ष किसान निराश भएका छन । अबको एक दुई हप्ता भित्र केरा बिक्री नभए सबै नष्ट भएर जाने केरा उत्पादक सङ्घका अध्यक्ष लख्खु यादवले बताए ।
सरकारले तत्कालै स्थानीय उत्पादनको बिक्री हुने व्यवस्था नगरे किसानहरू सडकमा आउने अवस्था हुने उनको भनाई छ । “खेतमा सबै केरा पाकेर झरेको छ, कतिपय पशुलाई खुवाउनु परेको छ, किसानहरू असाध्यै पीडामा छन्, यादवले भने ।”
जमिन भाडामा लिएर केरा खेती गरेका किसानहरू झनै पीडामा छन् । केरा खेतीबाट मनग्ये आम्दानी हुने ठानेर जमिनको भाडा तिरेर केरा खेती गरेका किसानहरू अहिले २० रूपैयाँप्रति दर्जनमा समेत केरा बिक्री नहुँदा पीडामा छन् ।
सुस्ता–४ नर्सहीकी चोखमाया घलेले दैनिक पशुहरूलाई केराको घरी काटेर खुवाउँदै आएको बताइन् । जमिन भाडामा लिएर केरा खेती गरेकी घलेको खेतमा केरा पाकेर भुईँभरि खसेको छ ।
“यस्तो अवस्था आउला भनेर सोचेको पनि थिइन, अब ऋण कसरी तिर्ने परिवार कसरी चलाउने रुन मन लाग्छ घलेले भनिन् ।” गत वर्ष ४५ रुपैयाँ प्रति दर्जन सम्ममा केरा बिक्री गरेका किसानहरू यस वर्ष प्रति दर्जन २० रुपैयाँमा केरा बिक्री गर्न समेत कठिन भएको गुनासो गर्छन्
केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष यादवले निकै सस्तोमा केरा खरिदका लागि व्यापारी आउन थालेको बताउँदै कम मूल्यमा बेचेर किसानको आधा लागत समेत नउठ्ने बताए ।
नवलपरासीको सुस्ता, प्रतापपुर र सरावलमा झन्डै १८ सय बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । अहिले नवलपरासीमा झन्डै एक लाख मेट्रिक टन केरा बिक्रीका लागि तयार भएको केरा उत्पादक सङ्घले जनाएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख नारायण काफ्लेले सिँचाई पूर्वाधार विकास, बिउ बिजन लगायतका विभिन्न कार्यक्रममा सहयोग गर्दे आएको भए पनि केरामा बजारीकरणको ठुलो समस्या देखिएको बताए ।
नवलपरासीमा यस वर्ष दश प्रतिशतले केरा खेतीको क्षेत्रफल विस्तार भएको छ । तर केराले उचित मूल्य नपाउँदा फेरि केरा खेतीबाट पनि पलायन हुनुपर्ने अवस्था सृजना भएको किसानहरूले बताएका छन् ।
लुम्बिनी प्रदेशमा भैरहवा र नेपालगन्ज भन्सार कार्यालयबाट अहिले भारतीय केराको आयात हुँदै आएको छ । बेलहिया नाकाबाट प्रति दिन ८० मेट्रिकटनका दरले केरा आयात भइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
भारतमा उत्पादन लागत सस्तो पर्ने भएकाले भन्सार बाट अहिले धमाधम सस्तोमा भारतीय केरा आयात भइरहेको छ । अहिले नेपाली उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले भारतीय केराको आयात रोक्नुपर्नेमा किसानहरूको जोड छ ।
कहाँ गयो चौधरीको केराका परिकार बनाउने उद्योग ?
अहिले प्रतापपुर र सुस्ताका केरा किसान आफ्नै केराको बगान हेरेर रुनुपर्ने अवस्थामा पुगेका छन् । खेत भरी केराको घरी तयारी अवस्थामा छ तर बिक्री छैन । यस्तो अवस्थामा स्थानीयदेखि प्रदेश तथा केन्द्र सम्म कुनै पनि निकायले चासो नदिएको किसानहरूको गुनासो छ ।
जनताले चुनेका प्रतिनिधिहरू किसानको पीडामा नजिक सम्म पर्दैनन् । सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य तथा नेपालका एक मात्र डलर अर्वपती बिनोद चौधरीले चुनावताका उखु र केरा किसानका समस्या सधैँका लागि समाधान गर्ने आश्वासन बाँडेका थिए ।
तर अहिले चौधरी कुन दुलोमा छन् थाहा छैन, न उखु किसानले अनुदान नपाउँदा उनी देखिन्छन् नत केरा किसानको पीडामा नै उनी साथमा छन् ।
चौधरीले सुस्ता–३ श्रीनगरमा केरा प्रशोधन उद्योग स्थापना गर्ने घोषणा गर्दै उद्योगको शिलान्यास समेत गरेका थिए । “सिजी स्न्याक्स प्रालि” को नाममा केराका आइसक्रिमदेखि चिप्स सम्मका विभिन्न परिकार बनाउने गरी उद्योग स्थापना गर्न चौधरीले जग्गा समेत खरिद गरेका थिए ।
तर चौधरीको उद्योग गफमा मात्र सीमित भएको किसानको गुनासो छ । सुस्ता नर्सहीका नारायण बहादुर ठकुरीले केराको चिप्स बनाउने उद्योग खोल्छु भनेका चौधरी कहाँ गए भन्दै प्रश्न गरे ।