© २०२३
नेपालगन्ज, १६ भदौ ।
दैलेखका २५ वर्षीय युवा योगेश सिंह ठकुरी अहिले बाँकेमा कृषिमा आत्मनिर्भर हुँदै पर्यटनसँग जोडिएको जीवन्त उदाहरण बनेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१३ भरैयास्थित “भरैया फार्मस्टे” सञ्चालन गरेर उनले पर्यटकलाई आकर्षित गर्ने मात्र होइन, गाउँलाई नयाँ पहिचान दिन थालेका छन् ।
करिब ७ बिघा क्षेत्रफलमा फैलिएको फार्ममा उनले २८ वटा रुद्राक्षका बोटसँगै एक सय ८ प्रजातिका बिरुवा हुर्काइरहेका छन् ।
अन्न बाली धान, मकै, कोदो र स्थानीय तरकारी खेतीसँगै भैँसी, बाख्रा, लोकल कुखुरा, हाँस र माछासम्म पालेर उनले गाउँकै बिचमा आधुनिक कृषि–पर्यटनको नमुना देखाएका छन् ।
फार्मभित्रै अर्ग्यानिक खानेकुरा खुवाउने र गाउँघरमै बसेको अनुभूति दिलाउने ‘फार्मस्टे’ पनि उनले गत साउन १५ गतेदेखि सुरु गरेका हुन् । सुरु भएको एक महिनाभित्रै दैनिक ५० देखि सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ भित्रिन थालेका छन् ।

“यहाँ अर्ग्यानिक खाना खान, रुद्राक्ष र जडीबुटी हेर्न, रैथाने बालीबारे बुझ्न धेरै आउने गरेका छन् । कतिपय त केवल रुद्राक्षको बोट अवलोकन गर्नकै लागि आउँछन्,” योगेशले हाँस्दै भने ।
भरैया गाउँ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । उत्तरतर्फ सल्यान र दाङलाई छुट्याउने अग्ला चुरे पहाड, पूर्व–दक्षिणतर्फ फैलिएको घना जङ्गलले गाउँलाई अझ रमणीय बनाएको छ । बजारको कोलाहलबाट टाढा, हरियाली र शान्त वातावरण खोज्ने पर्यटकका लागि यो ठाउँ अहिले रोजाइमा परेको छ ।
यो सपना भने योगेश एक्लैले पूरा गरेका होइनन् । उनका बुवा गणेशबहादुर सिंह, आमा राजकुमारी सिंह, हजुरआमा, भाइ–बुहारीसहित करिब १० जनाको परिवारै फार्मभित्रै बस्दै यस व्यवसायलाई जीवन्त बनाइरहेका छन् ।
“छोरोले विदेश जानेभन्दा यहीँ केही गरोस् भनेर कृषि विषय पढायौँ । अहिले उसको व्यवसायले दुई भाइलाई पनि रोजगारी दिएको छ । हामीलाई गर्व छ,” योगेशका बुवा गणेशबहादुरले सुनाए । योगेशको बुवाको शब्दमा लामो सङ्घर्षको कथा लुकेको छ ।
उनले करिब १५ वर्षसम्म ‘कालापाहाड’ भोगे, भारतमा रोजगारी गरेर परिवारको खर्च जुटाए । “आज सबै परिवार एउटै ठाउँमा बसेर दुःख–सुख बाँड्न पाइरहेको छौँ । यही हाम्रो सम्पत्ति हो,” उनी थप्छन् ।
तर, आमा राजकुमारीको चाहिँ फरक सपना थियो । “मैले त छोरो विदेश गएर सुकिलोमुकिलो भएर आरामको जीवन बिताओस् भन्ने सोचेकी थिएँ । छोराछोरी जस्तै उसले पनि विदेशमा पैसा कमाओस् भन्ने लाग्थ्यो । तर ऊ मानेन । अहिले त उसको निर्णय सही रहेछ जस्तो लाग्छ,” आमा भावुक हुँदै भन्छिन् ।

योगेशले विक्रम संवत् २०७६ सालमा सुर्खेतको बड्डीचौर स्थित जनज्योति माध्यमिक विद्यालयबाट ३ वर्षे कृषि र भेटेनरी अध्ययन पूरा गरेका थिए । त्यसपछि नेपालगन्ज उपमहानगरपालिका–१४ भवनियापुरस्थित २२ बिघा क्षेत्रफलमा फैलिएको आँप बगैँचामा केही वर्ष कृषि व्यवसाय सञ्चालन गरे ।
कृषिकै क्षेत्रमा प्रख्यात झापास्थित गोल्डेन ग्रुपमा म्यानेजरको रूपमा काम गरेर अनुभव बटुलेपछि बाँकेमै फर्किएर आफ्नै उद्यम सुरु गर्ने निर्णय गरे । ‘‘पढाइकै क्रममा पढ्दै कमाउँदै कार्यक्रमले धेरै कुरा सिकायो । विदेश जाने भन्दा स्वदेशमै केही नयाँ गरेर बस्ने योजनामा छु । अहिले त्यो सपना बिस्तारै पूरा हुँदै छ,” उनी भन्छन् ।
फार्ममा दैनिक किसान मात्र नभई कृषि विषयका विद्यार्थीहरू पनि पुग्छन् । योगेशले यस वर्षदेखि जनज्योति माध्यमिक विद्यालय बड्डीचौर सुर्खेतमा भर्ना हुने विद्यार्थीलाई आफ्नै फार्ममा प्रयोगात्मक कक्षा दिने योजना बनाएका छन् ।
अहिले नै बाँकेका विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी अवलोकनमा आउन थालेका छन् । “विद्यार्थीलाई खेतमै सिकाउन पाए, उनीहरूले जीवनभर प्रयोग गर्न सक्ने सीप पाउँछन् । यसले हाम्रो फार्मलाई पनि थप मूल्य थप्छ,” उनी सुनाउँछन् ।
धेरै युवाहरू रोजगारीको खोजीमा बिदेसिँदै गर्दा योगेशले भने स्वदेशमै सम्भावना देखे । परिवारसँगै बसेर कृषिलाई पेसा बनाउन सकिन्छ भन्ने देखाएर उनले अरूलाई पनि प्रेरणा दिएका छन् ।
छोटो समयमा कृषिका विद्यार्थी र पर्यटक दुवैलाई आकर्षित गर्न सफल भएका उनले आगामी दिनमा फार्मस्टेलाई अझ ठुलो बनाउन चाहेको बताए । “कृषि र पर्यटनलाई जोडेर नै गाउँलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ,” उनले दृढतासाथ भने ।