© २०२३
काठमाडौं, १६ भदौ ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिने निर्णयबारे पार्टीले पुनर्विचार गर्ने सम्भावना रहेको बताएका छन् । उनले पार्टीको निर्णय नसच्चिएसम्म आफूहरू त्यसका विरुद्ध लागिरहने स्पष्ट पारे ।
सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको अन्तरसंवादमा पाण्डेले आफूले पार्टीको केन्द्रीय कमिटी बैठकमा सो निर्णयप्रति फरक मत राखेको जानकारी गराउँदै उक्त विषयलाई पुनः स्मरण गराएको उल्लेख गरे ।
“विद्या भण्डारीको प्रवेशलाई पार्टीले रोक्छ भन्ने मलाई लाग्दैन,” पाण्डेले भने, “फर्कंदैन भन्ने लागेपनि यो पार्टी फरक्क फर्कने स्थिति आउँछ । हामी आशावादी छौं जहाँसम्म यो कुरा सच्चिँदैन, त्यहाँसम्म हामी पुग्छौं ।”
पाण्डेले एमालेमा अन्ततः सदस्यहरूको निर्णय नै प्रधान हुने र नेताहरूको प्रभाव त्यसअगाडि टिक्न नसक्ने जिकिर गरे । “एमालेमा सदस्यभन्दा शक्तिशाली कोही छैन ।
सदस्यहरूको निर्णय भएपछि कोही नेताको केही चल्दैन,” उनले भने, “अन्ततः परिस्थिति उल्टन बाध्य हुन्छ । अहिले शंका लाग्न सक्छ, तर अर्को साक्षात्कारमा हाम्रो भनाइ सही थियो भन्ने प्रमाणित हुनेछ ।”
उनले एमालेमा एउटै धारको विचार नहुने, बहस र छलफलसँगै अघि बढ्ने परिपाटी रहेको पनि बताए। “एमाले एकातिर हिँडिरहँदा, अर्कोतर्फको बहस पनि सँगसँगै चलाउँछ । हामी अर्को बाटोको बहस गर्दै पनि अघि बढ्ने पार्टी हौं,” पाण्डेले स्पष्ट पारे ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे केन्द्रीय कमिटीले हालै रोक लगाउने निर्णय गरेको थियो, जसमा पाण्डेले फरक मत राख्दै निर्णय सच्याइनुपर्ने आवाज उठाउँदै आएका छन् ।