© २०२३
काठमाडौं, १६ भदौ ।
साताको दोस्रो दिन सोमबार सेयर बजार सामान्य रूपमा उकालो लाग्दै १२.०३ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २,७६१.८६ अंकमा पुगेको हो ।
दिनभरको कारोबार अवधिमा बजारमा उतारचढाव देखिए पनि अपराह्नपछि पुनः सुधारको लय समातिएको हो । कारोबार सुरु भएको केही समयमै नेप्से २,७४१ अंकसम्म झरेको थियो, जुन आजको न्यूनतम बिन्दु रह्यो ।
बजारमा सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार ६ अर्ब ६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार त्यो घटेर ५ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ ।
बजार उकास्न बैंकिङ समूहले मुख्य भूमिका खेलेको छ, जसको परिसूचक आज १.५० प्रतिशतले उकालो लागेको छ । अन्य समूहहरूमध्ये विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा पनि सानो दरमा वृद्धि देखिएको छ ।
जीवन बीमा समूह स्थिर रहँदा व्यापार र अन्य समूह भने ओरालो लागेका छन् । मूल्य वृद्धिका हिसाबले हिमस्टार ऊर्जा अग्रस्थानमा रह्यो, जसको मूल्य ६.०७ प्रतिशतले बढेर प्रतिकित्ता २६७.५० रुपैयाँ पुगेको छ ।
हालै मात्र बजारमा सूचीकृत यो कम्पनीसहित स्टान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र महिला लघुवित्तको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । उता, उन्नति सहकार्य लघुवित्तको मूल्य ७.६८ प्रतिशतले घटेर सबैभन्दा धेरै गिरावट आएको छ ।
त्यसैगरी, विकास हाइड्रोपावर, पियोर इनर्जी, पिपुल्स पावर र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा समेत गिरावट देखिएको छ ।
आजको दिन नेपाल रिइन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंकजस्ता कम्पनीहरू सबैभन्दा बढी कारोबार भएका सूचीकृत कम्पनीहरूमा परेका छन् ।