© २०२३
रुपन्देही ।
आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले रुपन्देही क्षेत्र नं ३ मा उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको छ ।
पार्टीको रुपन्देही जिल्ला कमिटीको भैरहवामा बसेको बैठकले महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस गरेको हो ।
२०७४ सालमा नेकपा (एमाले) बाट यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका भूसाल पुनः उम्मेदवारको रूपमा अघि सर्ने सम्भावना रहेको छ । उनीसँगै लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही १ की सह इञ्चार्ज विजयलक्ष्मी रायको नाम पनि सिफारिसमा परेको छ ।
पार्टीले उम्मेदवार छनोटका लागि केन्द्रीय तहमा विशेष कार्यदल गठन गरेको छ । उक्त कार्यदलमा केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, जिल्ला इञ्चार्ज नन्दलाल बन्जाडे र जिल्ला अध्यक्ष हीराध्वज शाह सदस्य छन् ।
कार्यदलले सातै सिफारिस व्यक्तिसँग छलफल गरी चुनावी रणनीति विश्लेषणपछि एक महिलासहित तीन जनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने बताइएको छ । निर्वाचन आयोगले उपनिर्वाचन आगामी कात्तिक १७ गतेका लागि तोकेको छ ।