Butwal Today

रास्वपाका उम्मेद्वार डा. लेखजंग थापा: बहुविवाहको मुद्दा, गोप्य रेकर्डिङ काण्ड… अनि उम्मेदवारी

१६ भाद्र २०८२, सोमबार
अ+
अ-

बुटवल, १६ भदौ

बहुविवाहको उजुरी र विवादबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई रूपन्देही–३ को उपनिर्वाचनका लागि आधिकारिक उम्मेदवार बनाएको छ।

आइतबार बसेको सचिवालय बैठकले थापाको नाम सार्वजनिक गरेपछि पार्टीभित्रै नयाँ तरंग पैदा भएको छ। थापाविरुद्ध बहुविवाहको मुद्दा उठिरहेका बेला यस्तो निर्णय आएको हो।

थापाले पहिलो पत्नी सुलोचना घिमिरेसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेको भन्ने आरोप उनी नजिकका चिकित्सक तथा स्रोतहरूले लगाउँदै आएका छन्। महामन्त्री कविन्द्र बुर्लाकोटीले भने थापाले पहिलो पत्नीलाई डिभोर्स गरेर मात्रै दोस्रो विवाह गरेको दाबी गरे पनि त्यसको स्पष्ट प्रमाण, मिति वा आधिकारिक कागजात प्रस्तुत गर्न सकेका छैनन्।

यसबारे थप प्रश्न उठाउने आधार भने थापाकै युट्युब च्यानल र श्रीमतीहरूले सार्वजनिक गरेका सामाजिक सञ्जालका भिडियो तथा फोटोहरू बनेका छन्। पाँच वर्षअघि उनले अपलोड गरेको “सुपर थापा फ्यामिली” नामक भिडियोमा थापा आफ्ना दुवै पत्नी सँगै देखिन्छन्। हालसालै टिकटक र फेसबुकमा पनि उनीहरू संयुक्त रूपमा देखिएका तस्बिर–भिडिओले सम्बन्ध विच्छेद नभएको संकेत गर्छन्।

थापाविरुद्ध अर्को विवाद चुनावी आकांक्षीहरूको विशेष बैठकमा भएको गतिविधिबाट झन् चुलिएको छ। २०८२ भदौ ३ गते बसेको आकांक्षीहरूको बैठकमा मोबाइल प्रयोग निषेध गरिएको अवस्थामा उनले क्यामेरा जडान गरिएको चस्मा लगाएर बैठककै अडियो–भिडिओ रेकर्ड गरेको उजुरी आठ जना आकांक्षीले पार्टी नेतृत्वलाई दिएका छन्।

उक्त उजुरीमा थापाले पार्टी अनुशासन तोडेको, गोपनीय रणनीति लिक गर्ने जोखिम बढाएको र अनुशासनात्मक कारबाही गर्नुपर्ने माग गरिएको छ। तर, आजसम्म कुनै औपचारिक छानबिन सुरु भएको छैन।

सचिवालयमा मतभेद

पार्टीभित्रै अन्य आकांक्षीहरू—सुलभ खरेल, ज्ञानु पौड्याल लगायत बलिया दावेदार भए पनि कार्यवाहक सभापति डोलप्रसाद अर्याल र लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यको समर्थनले अन्ततः थापाको पक्ष जितेको स्रोतले बताउँछ। सभापति रवि लामिछाने भने प्रारम्भमा सुलभ खरेलतिर झुकेको भनाइ छ।

२०७९ को आमनिर्वाचनमा थापा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक सूचीमा नवौंनम्बरमा परेका थिए। सो सूचीबाट आफ्नो नाम अझै हटेको/नहटेको प्रष्ट छैन। त्यस्तै, थापाकी दोस्रो पत्नी नुमा शर्मा नाउपाकै कोटाबाट लुम्बिनी प्रदेश योजना आयोगकी सदस्यसमेत नियुक्त भएकी थिइन्।

अब निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने प्रक्रिया सुरु हुन बाँकी छ। यसअघि नै विवादास्पद व्यक्ति उम्मेदवार बनाउन नहुने भन्दै रास्वपाभित्रै आवाज उठ्न थालेको छ। कतिपय नेताले पार्टीको छवि र भविष्य सुरक्षित राख्न उम्मेदवारी पुनर्विचार गर्नुपर्ने चेतावनीसमेत दिएका छन्।