© 2026
नवलपरासी, १६ भदौ ।
जिल्लास्थित पृथ्वीचन्द्र जिल्ला अस्पताललाई स्वास्थ्य बिमा रकम उपलब्ध नहुँदा अस्पतालको आन्तरिक वित्तीय व्यवस्थापनमा चुनौती थपिएको छ । झन्डै तीन करोड रुपियाँ बिमा बक्यौता हुँदा अस्पतालको सेवा सञ्चालनमा चुनौती थपिँदै गएको अस्पताल प्रशासनले जनाएको हो ।
बिमा बापत सेवा दिँदै आएको र गत आर्थिक वर्ष (२०८१/०८२) को पुरै बिमा रकम उपलब्ध नहुँदा सेवा प्रवाहमा चुनौती थपिएको अस्पतालका लेखापाल लल्लन कुर्मीले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कुल ३ करोड ६५ लाख ९४ हजार बराबरको बिमा गरिएका बिरामीको निःशुल्क उपचार गरी नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डमा रकम मागका लागि लेखि पठाएको थियो ।
तर अहिलेसम्म गत वर्षको ६४ लाख १५ हजार ५ सय २६ रुपियाँ मात्र प्राप्त भएको छ । २ करोड ९८ लाख ७८ हजार बिमा रकम बक्यौता नै रहेको उनले सुनाए । चालु आर्थिक वर्ष (२०८२।०८३) को पनि साउन महिनाको ४३ लाख ८७ हजार ४ सय ६० र भदौको २१ लाख ७४ हजार १६ रुपियाँ पुरै नै बक्यौता छ ।
बिमा रकमका लागि पटक–पटक बिमा बोर्डलाई जानकारी गराउँदै आएको भए पनि रकम आउन नसक्दा समस्या देखिएको लेखापाल कुर्मीले बताए । विगतदेखि पनि बिमाको रकम आउन बाँकी थियो, उनले भने, अहिले पनि बिमा सेवामा खर्च हुने रकम बढ्दै गएको छ ।
उनका अनुसार बिमा बापत पाउने रकम नआउँदा अस्पताललाई तरलता व्यवस्थित गर्न समस्या देखिएको छ, उनले भने, औषधी टेन्डर मार्फत खरिद गरिन्छ, सो रकम औषधि दाखिला गरेर भुक्तनी दिई हाल्नुपर्छ । अन्य चिकित्सकलाई दिइने भत्ता रकमहरू पनि रोक्न सकिदैन् ।
अस्पतालको आफ्नो अन्य स्रोत छैन,सरकारले पठाउने बजेटमा सरकारी अस्पताल चलाउने हो । निजी जस्तो चुक्ता पुजिँ जस्तो राख्ने जस्तो प्रावधान हुदैन्, तर बिमा बोर्डले रकम लामो समयसम्म नपठाई दिँदा अस्पतालको दैनिक प्रशासन सञ्चालनमै समस्या हुने उनको भनाई थियो ।
अस्पतालमा चिकित्सकको आकर्षणसँगै बिरामीको चाप बढ्दो छ । तिनै बिरामी मध्ये बिमा गराउने बिरामीको सङ्ख्या पनि उल्लेख्य छ । बिरामी आएपछि सेवा दिनै प¥यो, लेखापाल कुर्मीले भने, अस्पतालले आफ्ना आन्तरिक स्रोतले कतिसम्म तरलता कायम राख्छ ।
पुरै बिमा रकम पठाइदिन्थ्यो भने विशेषज्ञसँग काम गर्ने अन्य सहायक स्वास्थ्यकर्मीहरूको भर्ना सहज गरेर सेवालाई थप गुणस्तरीय बनाउन सकिन्थ्यो । विशेषज्ञले सर्जरी गरे पश्चात् दिइने अन्य सेवाका लागि नर्सिगँ स्टाफ, पारामेडिक्स, पोष्टअफ स्टाफ,ओटी सहयोगी स्टाफ अभाव नै रहेको छ ।
अस्पतालका मेनेजर सीमा काफ्लेका अनुसार विशेषज्ञ चिकित्सकको अनुपातमा थप १५ जना स्वास्थ्यकर्मी थपियो भन्ने पूर्ण क्षमताको काम हुन सक्ने छ । हाल ५० सैया अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा(ओपिडि) अन्तर्गत हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्रिी तथा प्रसूति, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् ।
अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, बिरामी भर्ना जनरल, फार्मेसी सेवा, प्रसूति अन्तरगत साधारण प्रसूति जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र,लैगिकहिँसा सम्बन्धि एकद्वारा ब्यवस्थापन (ओसीएमसी), क्षयरोग, कुष्टरोग क्लिनिक,जीन स्पट सेवा, संस्थागत क्लिनिक सेवा, प्लाष्टर सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।