© २०२३
बुटवल, १६ भदौ । रुपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ अन्तर्गत सोमबार भएको खेलमा भैरहवा अञ्चलपुर (एवाईसी), भैरहवाले शानदार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । यशोदा फुड्स प्रालिको मुख्य प्रायोजन, तिलोत्तमा नगरपालिकाको सहप्रयोजन तथा लिस्नु युवा क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलमा पाल्पा–११, पाल्पालाई अञ्चलपुरले ५–० गोल अन्तरको फराकिलो जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्ने भैरहवा अञ्चलपुरका उज्वल राई ‘म्यान अफ द म्याच’ घोषित भए । मंगलबार झरना स्पोर्टस क्लब, कुन्जलापुर र कपिलबस्तु–११ बिचमा खेल हुने छ । प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ तथा उपविजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक पदमबहादुर थापाले बताए । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्तालाई १२ हजार ५ सय, राइजिङ खेलाडीलाई १२ हजार ५ सय र प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, अनुशासित टिमलाई आकर्षक ट्रफी प्रदान गरिनेछ ।
भदौ १४ देखी २७ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब तिलोत्तमा, झरना स्पोट्र्स क्लब तिलोत्तमा, फर्साटिकर एफसी, फर्साटिकर, भैरहवा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर, सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४, सुपौली, अभिषेक चर्च, रजहर नवलपरासी, गोर्खा वोइज बुटवल, देवदह वोइज खैरेनी, वालिङ–११ वालिङ नगरपालिका, पाल्पा–११ पाल्पा, नवलपरासी–११ नवलपरासी र कपिलवस्तु–११, कपिलवस्तु गरी १२ वटा टिमको सहभागिता रहेको छ ।