Butwal Today

बर्दिया विद्युतीय चुरोटको तस्करी मार्ग

१६ भाद्र २०८२, सोमबार
अ+
अ-

समाचार सारांशमा


  • बर्दियाको मधुवन नगरपालिका–५ फुलाराम चोक नजिकबाट तस्करी हुँदै गरेको सामग्री नियन्त्रणमा ।


  • दुई वटा साइकल प्रयोग गरी ल्याइँदै गरेको १ हजार ९ सय २० थान ‘स्पेशम्यान एसपी ४० हजार’ ब्रान्डको इलेक्ट्रिक भेप बरामद ।


  • बरामद सामग्रीको अनुमानित मूल्य करिब ४८ लाख रुपैयाँ ।


बर्दिया, १६ भदौ ।

नेपाल–भारत सीमा क्षेत्र फेरि पनि तस्करी गतिविधिका कारण चासोको केन्द्र बनेको छ । सशस्त्र प्रहरीले बर्दियाको मधुवन नगरपालिका–५, गाउँ नं. १० को फुलाराम चोक नजिकैबाट करिब ४८ लाख रुपैयाँ बराबरको अवैध चिनियाँ विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) नियन्त्रणमा लिएको छ ।

सुराकीका आधारमा खटिएको गस्ती टोलीले दुई वटा साइकलमार्फत ल्याइँदै गरेको १ हजार ९ सय २० थान “स्पेशम्यान एसपी ४० हजार“ नामक विद्युतीय चुरोट फेला पारेको हो ।

प्रारम्भिक अनुमानअनुसार, यो सामग्री भारततर्फबाट चोरी निकासी भई बर्दिया हुँदै नेपालगन्ज र त्यहाँबाट अन्य सहरतर्फ पु¥याउने योजनामा तस्कर समूह सक्रिय रहेको थियो ।

सशस्त्र प्रहरी नायव निरीक्षक कमलबहादुर नेपालीले विशेष सुराकीका आधारमा भारततर्फबाट ठुलो मात्रामा प्रतिबन्धित सामान भित्र्याउन लागेको जानकारी आएको बताए ।

उनका अनुसार, दुई वटा साधारण साइकलमा राखिएका बक्स भित्र करिब दुई हजार थान इलेक्ट्रिक भेप लुकाइएको थियो । ‘प्रारम्भिक हिसाबमा यसको मूल्य ४८ लाख रुपैयाँ भन्दा बढी पर्छ,’ उनले बताए ।

सशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीले ठुलो मात्रामा पाइएको तस्करी सामान हो । नियन्त्रणमा लिइएका सामग्री आवश्यक प्रक्रिया पूरा गरी राजापुर भन्सार कार्यालयमा बुझाइएको छ ।”

नेपाल–भारतबीचको १ हजार ७ सय ५० किलोमिटर लामो खुला सीमाको करिब ७० किलोमिटर भाग बर्दियामा पर्छ । यही खुला सिमानाकै कारण बर्दिया वर्षौँदेखि तस्करीको मुख्य नाकामध्ये एक मानिन्छ ।

स्थानीय बासिन्दा बताउँछन् कि यसअघि मट्टितेल, चिनी, मोटरसाइकल पाट्र्स, कपडा, खाद्यान्न जस्ता वस्तुहरू तस्करीको मुख्य हिस्सा हुन्थे भने हाल केही वर्षयता इलेकट्रोनिक सामान, मोबाइल, औषधि, लागू औषध र अब इलेकट्रोनिक चुरोट (ई–सिगरेट) पनि तस्करीमा प्रमुख बन्दै गएको छ ।

भन्सार कार्यालयका एक कर्मचारी भन्छन्, । “नेपालमा भेप आयात कानुनी बाटोबाट गर्न सकिँदैन । तर भारततर्फ यसको उपलब्धता सजिलो भएकाले तस्करीमार्फत ठुलो मात्रामा ल्याइन्छ । संसारभर नै भेप नियन्त्रणमा कडा नीति अपनाइँदै आएको छ ।

भारतले २०१९ मै इलेकट्रोनिक चुरोट पूर्ण प्रतिबन्ध लगाइसकेको छ भने नेपालमा समेत कानुनी रूपमा यसलाई आयात–बिक्री गर्न पाइँदैन । तर, युवा पुस्ताको बढ्दो मागका कारण तस्करीले टाउको उठाएको हो ।

एसपी शाही भन्छन्,“सीमामा भौतिक अवरोध छैन । मानिसहरू पैदल, साइकल, रैथाने बाटो प्रयोग गरेर सामान लैजाने गर्छन् । हामीले नियन्त्रण गरेका घटना सतहमा देखिने मात्र हुन् । तर यसभन्दा बढी मात्रामा तस्करी भइरहेको अनुमान छ ।”

नेपालगन्जका व्यापारी कृष्ण केसी भन्छन्, “तस्करी गरेर ल्याइएको सामान सस्तो पर्छ । कर नतिरेकाले मूल्य घट्छ । यसले कानुनी व्यवसाय गर्नेहरूलाई मर्का पारेको छ ।” राजस्व छलीका कारण राज्यले वार्षिक करोडौँ गुमाइरहेको अनुमान गरिएको छ ।

विशेषज्ञहरूका अनुसार, तस्करी नियन्त्रण गर्न बहु आयामिक रणनीति आवश्यक छ । सीमा व्यवस्थापन सुदृढीकरण–सीमामा आधुनिक निगरानी प्रणाली, सिसिटिभी जस्ता भौतिक संरचना बिस्तार गर्नुपर्छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार र स्थानीय निकायबीच घनिष्ठ सहकार्य हुनुपर्छ । स्थानीयलाई तस्करीमा संलग्न हुन नदिन सचेत बनाउनुपर्छ । तस्करीमा संलग्नहरूलाई कडा सजाय दिनुपर्छ ।