© २०२३
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा नेपालले समर्थन जनाएको भन्ने प्रचार भ्रामक र तथ्यहीन रहेको स्पष्ट गरेका छन् ।
सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनका क्रममा भदौ १४ गते चीनको तियानजिनमा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको दुईपक्षीय भेटवार्तामा सहभागी रहेका डा. खतिवडाले नेपालको परराष्ट्र नीति असंलग्न रहेको स्मरण गराउँदै कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अंग नबन्ने नेपाल सरकारको स्पष्ट नीति रहेको बताए ।
उनले भने, “प्रधानमन्त्री ओलीको भ्रमण एससीओ प्लस सम्मेलनका लागि भएको हो । यस्ता साइडलाइन वार्तामा कुनै सहमति वा सम्झौतामा हस्ताक्षर गरिँदैन । जीएसआईमा समर्थन भएको भन्ने कुरा तथ्यहीन र भ्रामक छ ।”
चीनतर्फबाट भेटपछि जारी गरिएको प्रेस विज्ञप्तिमा नेपालले जीएसआईप्रति समर्थन जनाएको उल्लेख भएपछि त्यसबारे उठेका प्रश्नमा प्रतिक्रिया दिँदै डा. खतिवडाले नेपालको तर्फबाट त्यसबारे कुनै सहमति वा स्पष्ट प्रतिबद्धता नजनाइएको दोहोर्याए ।
उनका अनुसार भेटमा नेपाल चीनबीचको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत भएका पुराना सहमति र सम्झौताहरूको कार्यान्वयनमा जोड दिइएको थियो ।
साथै,दुई देशबीचको सहकार्यलाई आर्थिक – सामाजिक रूपान्तरणमा उपयोग गर्ने विषयमा छलफल भएको जानकारी उनले दिए ।
नेपाल र चीनबीच सम्पर्क सञ्जाल विस्तार, पूर्वाधार तथा औद्योगिक विकास, स्वास्थ्य, कृषि, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, जनस्तरको सम्बन्ध र गरिबी निवारणमा सहकार्य विस्तार गर्ने विषयमा छलफल केन्द्रित भएको पनि डा. खतिवडाले बताए ।
यसअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा टोखा छहरे सुरुङमार्ग निर्माण, द्विपक्षीय व्यापार अभिवृद्धि तथा नेपालबाट भैंसीको मासु निर्यातसम्बन्धी सहमतिहरू भएका थिए ।
डा. खतिवडाले भ्रमणका सन्दर्भमा सार्वजनिक भएका भ्रामक व्याख्याहरूप्रति सचेत रहन र तथ्यमा आधारित जानकारी मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् ।