Butwal Today

अटो खोलामा खस्दा १ बालिकाको मृत्यु, २ महिला बेपत्ता

१६ भाद्र २०८२, सोमबार
अ+
अ-

 काठमाडौँ, १६ भदौ ।

दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक बालिकाको मृत्यु भएको छ भने दुई महिला बेपत्ता भएका छन् ।

सोमबार दिउँसो साढे १ बजेतिर नौगाड गाउँपालिका–५ स्थित सौकेबगर नजिकै म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोलामा खसेको हो  ।

दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार मृतक करिब ११ वर्षीया बालिका हुन्, जसको पहिचान खुलेको छैन । अटोमा सवार अन्य दुई महिला अझै बेपत्ता छन् र उनीहरूको खोजी कार्य जारी छ ।

रावतका अनुसार अटोमा चालकसहित पाँच जना सवार थिए । तीमध्ये चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल रहेका छन्, यद्यपि आयुषको हात भाँचिएको छ ।

होपरी गाडबाट गोकुलेश्वरतर्फ जाँदै गरेको अटो अचानक अनियन्त्रित भई खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले चालक मणिराज भुललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।