Butwal Today

भिजिट भिसा प्रकरणमा छानबिन आयोग नबने सडक आन्दोलनमा जान बाध्य हुनेछौँ : लिङ्देन

१५ भाद्र २०८२, आइतबार
अ+
अ-

झापा, १५ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नगरे सरकारले जनदबाबको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

आइतबार झापामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सरकारले छानबिनको मागलाई वेवास्ता गरेमा आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सडक आन्दोलनमा जान बाध्य हुने बताएका हुन् ।

उनले संसद अवरुद्ध गर्ने रणनीति तत्कालका लागि जारी रहने स्पष्ट पार्दै भने “हामी कम्तीमा यो संसद सत्रभरि विरोधमै रहनेछौं । आवश्यक पर्‍यो भने दुईवटा पार्टी सडकमा आउन सक्छौं ।”

साथै उनले संसद अवरुद्ध गरेको अवस्थामा पनि सभामुख देवराज घिमिरेले बेवास्ता गर्दै संसद चलाउन खोजेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे ।

लिङ्देनले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्दै राजीनामा दिनुपर्ने माग पनि दोहोर्‍याएका छन् । “यदि उहाँ दोषी हुनुहुन्न भने पनि छानबिन आयोग त गठन हुनुपर्‍यो नि । भोलि दोषी ठहरियो भने राजीनामा दिनुपर्छ, कारबाही त भइहाल्छ ”- उनले भने

तर आज सरकारले हामीको मागलाई बेवास्ता गरिरहेको छ, सभामुखले पनि संसदलाई जबरजस्ती अगाडि बढाइरहेका छन् । यस्तो अवस्था नेपाली जनताले हेरिरहेका छन् ।

फरक प्रसंगमा उनले पार्टीभित्र नयाँ कार्यकर्ताहरूलाई जिम्मेवारी बाँड्ने क्रममा केही त्रुटि भए आफू सच्चिएर अघि बढ्न तयार रहेको उल्लेख गरे। नेतृत्वमा कमजोरी भए सुधार गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?