Butwal Today

पार्टीको सिस्टम स्वीकार गरेर जान रविको उम्मेदवार आकांक्षीहरूलाई सुझाव

१५ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उम्मेदवार आकांक्षीहरूलाई पार्टीले तय गरेको प्रणाली (सिस्टम) स्वीकार गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।

रविलाई भेट्न आइतबार ललितपुरस्थित नख्खु कारागार पुगेका उम्मेदवार आकांक्षी ९ जनामध्ये प्रतिनिधिस्वरूप दुई-दुई जनालाई प्रशासनले भेटको अनुमति दिएको थियो ।

रविलाई भेटेर बाहिरिएका आकांक्षीहरू पाथिवेन्द्र उपाध्याय र सुलभ खरेलका अनुसार सभापति लामिछानेले सबै उम्मेदवार आकांक्षीहरू सक्षम रहेको भन्दै पार्टीले बनाएको उम्मेदवार छनोट प्रणालीलाई सम्मान गर्न आग्रह गरेका थिए ।

उनले सिस्टमअनुसार जो छानिए पनि उसलाई पूर्ण सहयोग गर्न र दीर्घकालीन रूपमा पार्टीसँगै मिलेर अघि बढ्न सुझाव दिएको बताएका छन् । “रविजीले २०८४ सम्म सबैको व्यवस्थापन हुन्छ पार्टीले बनाएको पद्धतिलाई मान्नोस् भनेर भन्नुभयो,” खरेलले बताए ।

उपाध्याय र खरेलले पनि आफूहरूले पार्टीको प्रक्रिया मान्न कुनै अप्ठ्यारो नरहेको र जो छानिए पनि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । उम्मेदवार घोषणा कार्यक्रमको दिनमै काठमाडौँ आएका कारण सभापतिलाई भेट्न गएका हुन् भन्ने पनि उनीहरूले स्पष्ट पारे ।

यता लुम्बिनी प्रदेशका इन्चार्ज तथा रास्वपा सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयन प्रक्रियामा कुनै मध्यस्थता नभएको बताउँदै, “उहाँहरू काठमाडौँ आएको बेला सामूहिक रूपमा भेट्न गएको मात्रै हो – भने ।

उनले पार्टीले तोकेको प्रणालीभन्दा बाहिर गएर उम्मेदवार छनोटमा दायाँबायाँ नहुने स्पष्ट पारे ।  यसअघि, साउन २२ गते उम्मेदवार घोषणा गर्ने समयमै ९ जना आकांक्षीहरूले उपनिर्वाचनमा जो छानिए पनि बागी उम्मेदवार नउठाउने लिखित प्रतिबद्धता जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?