© २०२३
नवलपरासी, १५ भदौ ।
जिल्लाको पर्यटकीय क्षेत्रलाई आर्थिक क्षेत्रमा रूपान्तरण कसरी गर्ने बारे अध्ययन गर्ने उद्देश्यले भारतको पर्यटकीय स्थलको भ्रमण उद्योग वाणिज्य सङ्घको टोलीले गरेको छ । सङ्घका अध्यक्ष ओम प्रकाश अग्रहरीको नेतृत्वमा भारतका केही पर्यटकीय स्थलको अध्ययन र अवलोकन गरेको हो ।
सङ्घका अध्यक्ष अग्रहरी सहित वाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त र लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्री सहितको टोलीले भारतको कुशिनगर जिल्ला र गोरखपुर जिल्लाको भ्रमण गरेका थिए ।
अध्यक्ष अग्रहरीका अनुसार जसमा भगवान् बुद्धले महापरिनिर्वाण लिइएको परिनिर्वाण स्थल र अन्त्येष्टि गरिएको रामभार स्तूप स्थलको अध्ययन र अवलोकन गर्नुका साथै त्यहाँका पुरातत्त्व कार्यालयसँग पनि छलफल गरेको थियो ।
बुद्धकालीन मल्लहरूको गणराज्य कुशिनारामा भगवान् बुद्धले महापरिनिर्वाण लिएका थिए । महापरिनिर्वाण पश्चात् उनको अन्त्येष्टि पनि त्यही गरिएको थियो । अन्त्येष्टि पश्चात् उनका अस्थिहरू वितरण भएका थिए । तिनै अस्ति मध्ये महापरिनिर्वाण स्थलमा एउटा र अन्त्येष्टि गरिएको स्थल हिरण्यवती नदी किनारमा अवस्थित छ ।
कुशिनगरबाट प्राप्त गरिएको बौद्धकालीन प्राचीन कोलिय गणराज्यका कोलियहरू (जुन भगवान् बुद्धका मावली परिवार थिए) ले आफ्ना भागमा पाएका अस्थि ल्याएर नवलपरासीको रामग्राम ७ देउरवा झरही किनारमा स्तूपको स्थापना गरेका थिए ।
यसले गर्दा कुशिनगरसँग नवलपरासीको प्राचीन सम्बन्ध मात्रै होइन, अवस्था हेर्दा पनि सोही बेलाको रामभार स्तूप हिरण्यवती नदी किनारमा हुँदा भारत सरकारले जसरी सो नदीको व्यवस्थापन गरी पर्यटकीय पूर्वाधार निर्माण गरेको छ ।
त्यो अवस्था रामग्राममा पनि उस्तै छ,उनले भने, तर कुशिनगर जस्तो व्यवस्थापन रामग्राममा हुन सकेको छैन । रामग्राम स्तूपको झरही नदिलाई पनि कुशिनगरको हिरण्यवती नदी जस्तै बनाउने आधार प्रष्ट देखियो ।
महापरिनिर्वाण लिएको स्थल भन्दा उनको मावली स्थल कोलिय गणराज्यको राजधानी रामग्राम १८ पण्डितपुरको विशाल दरबार छ,तर खेतीपाती हुने अवस्थामा छ । कुशिनगरमा भारतको पुरात्व कार्यालय नै खोलेर कुशिनगरमा पुरातत्त्वको संरक्षण, प्रवर्द्धन, नियमन गर्ने कार्यमा जुटेको छ ।
तर रामग्राममा नेपालको पुरातत्त्व कार्यालय बर्सेनि काठमाडौँबाट आउने उत्खनन गर्ने, पछि उत्खनन स्थल पुर्ने र भेटिएका सामग्री लिएर फर्कने कार्य मात्र गरेको छ । कुशिनगरमा पर्यटकलाई सघाउन पर्यटन प्रहरी परिचालन छन्, रामग्राममा नेपाल प्रहरी तस्कर खोज्दै हिँड्ने गरेका छन् ।
दुवै स्थान सम्बन्धित छन् र एउटै महत्वका छन्, उनले दुःख व्यक्त गर्दै भने, कुशिनगरको विकास र व्यवस्थापन हेर्दा हाम्रो नवलपरासीमा कहिले यस्तो होला ? भनेर सोच्दै छौ । यसका लागि यहाँका स्थानीय सरकार, प्रदेश सरकार र पुरातत्त्व कार्यालयले निजी क्षेत्रले गर्ने भूमिका भनेमा सङ्घ त्यो कार्य गर्न तयार रहेको आश्वस्त पारेका थिए ।
कुशिनगर मात्रै नभई अध्ययन अवलोकन गरिएको गोरखपुर जिल्लाकै शक्तिपिठको रूपमा पूजापाठ गरिदै आएको तर्कुलहा माई मन्दिरमा दिनकै करोडको कारोबार हुने देखियो । जुन अङ्ग्रेज कालमा त्यहाँका बन्धु सिँहलाई अङ्ग्रेज सरकारले फाँसी दिँदा तर्कुलहवा माई स्थानको तर्कुलको रुख भाचिएको थियो ।
तरकुलहा माईका भक्त रहेका सहिद बन्धु सिँहको हत्या गर्ने अङ्ग्रेजको सो कुकृत्यले अङ्ग्रेजको पतन भएको मान्यता अहिलेसम्म रहेको छ । दैनिक हजारौं भक्त जनको भिड लग्ने गरेको अध्यक्ष अग्रहरीले सुनाए ।
तर सोही समकक्षी शक्तिपिठ सेनकालिन पाल्ही भगवती मन्दिर हाम्रै नवलपरासीमा प्रख्यात छ, तर उचित व्यवस्था नहुँदा आउने भक्तजन पर्यटक एक छिनकै बसाइँमा फर्कन बाध्य छन् । यो क्षेत्रलाई पनि भक्ति र कारोबारसँग जोडेर विकास गर्नु पर्ने अवस्था अध्ययनले देखाएको उनले भने, यसबारे पनि निजी क्षेत्रको छलफलको विषय बनाइने छ ।
उता गोरखपुरको रामगढ ताल पहिला गोरखपुर बजारको अव्यवस्थित ढल बगाउने स्थलको रूपमा थियो । तर अहिले उक्त ताललाई व्यवस्थित गर्दै नौका विहारको रूपमा परिणत गरिएको छ । दैनिक हजारौँ पर्यटकको भिडभाड देखिएको छ ।
सिमसारको वास्तविक स्वरूप उक्त रामखढ ताल पर्यटनको आधार बनेको छ । जुन नवलपरासीको १ सय ८२ बिघामा फैलिएको नन्दन ताललाई व्यवस्थापन गर्नुपर्ने कुराको झल्भल्ति सम्झाएको उनले आफ्ना अनुभव सुनाएका थिए ।
नन्दन ताललाई तालको स्वरूप प्रदान गरी द्वापर काल र बुद्धकालीनसँग सम्बन्धित इतिहाससँग जोडिएको ताल हो, व्यवस्थापन मात्रै गर्न सके रामगढको ताल जस्तै स्वरूप प्रदान गर्ने अवस्था यहीँ जिल्लामा देखिन्छ ।
उनले गोरखपुरको गोरखनाथ मन्दिरलाई पनि जिल्लाकै गोबरकोटवा मन्दिरसँग जोडेर पनि आफू सोचेको कुरा सुनाए । गोरखपुर मन्दिरको प्रतीकको रूपमा गोबरकोटवा हाम्रै नवलपरासीमा अवस्थित छ, जुन दुवै मन्दिरको अन्तरसम्बन्ध पनि छ, तर गोखरपुर मन्दिरमा लगानी गरेर दैनिक हजारौँ धार्मिक पर्यटक भित्र्याउने स्थलको रूपमा छ, तर गोबरकोटवा एक दिन माघे सङ्क्रान्तिको बेला लाग्ने मेलामा समिति गरिएको छ ।
यसलाई पनि उचित लगानी र उचित व्यवस्थापन गर्न सके पर्यटक तान्ने स्थलको रूपमा विकास सम्भव रहेको उनको भनाइ थियो । सानो एक दिनको अध्ययन भ्रमण भए पनि धेरै कुराको सिकाई भएको उनले बताएका ।
‘पहिला पनि भ्रमण धेरै पटक गरियो,’ उनले भने–‘तर यस पटकको अध्ययन अवलोकन भ्रमणले फरक अनुभूति गराएको छ । यसलाई निजी क्षेत्रको पर्यटन उद्योग तथा पर्यटन व्यवसायसँग जोडेर सङ्घको बैठकमा छलफल गराउने र विकासका एजेन्डा बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाएका थिए ।
सो एजेन्डाबारे यहाँका सरकार, राजनीतिक दल, सामाजिक अगुवा र प्रेस सँग समक्ष पनि प्रस्तुत गर्ने दाबी उनको रहेको थियो । इतिहास, स्थान र अवसर भ्रमण गरिएको भारतका दुई जिल्लाका पर्यटकीय स्थल भन्दा नवलपरासीका हाम्रा पर्यटकीय स्थलको महत्त्व कम छैन, उनले थपे, तर सबैमा सकारात्मक सोच, चिन्तनको विकास गराउन सके त्यहाँ जस्तै वा त्यहाँ भन्दा उत्कृष्ट स्थानको रूपमा स्थापित गर्ने अवसर हाम्रै जिल्लामा रहेको छ ।
यसका लागि सबैले अ आफ्नो स्थानबाट पहल र प्रयास गर्नुपर्ने आवश्यकता उनले औँल्याएका थिए ।