© २०२३
काठमाडौँ, १५ भदौ ।
बाढी पहिरोका कारण अवरुद्ध भएका आठ सडक खण्ड तत्काल खुलाउने निर्णय सरकारले गरेको छ ।
आइतबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा सिंहले सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई ठुलो समस्या हुने भएकाले तत्काल सडक खुलाएर आवतजावत सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
बैठकमा गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले वर्षाका कारण बन्द भएका सडकहरूको विवरण प्रस्तुत गरेको थियो । सो अवसरमा सिंहलाई सडक अवस्था र प्रभावित क्षेत्रहरूको बारेमा जानकारी गराइएको थियो ।
हाल रसुवाको पासाङ ल्हामु राजमार्ग अन्तर्गत गोसाईंकुण्ड गाउँपालिका-२ को टिमुरे, अरनिको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका-२ को कोदारी र घट्टेखोला, तथा बेनिजोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–२ को दुई खोली क्षेत्रमा सडक अवरुद्ध छन् ।
यस्तै, घोराही–थवाङ सहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका, भेरी करिडोर अन्तर्गत त्रिपुरा सुन्दरी नगरपालिका–छलघाट, कर्णाली राजमार्गअन्तर्गत शुभकालिका गाउँपालिका र भेरी कोरिडोरकै आठबिसकोट नगरपालिका क्षेत्रमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।
सरकारले यी सडक खण्डहरू तत्काल खुलाउने गरी आवश्यक जनशक्ति, संयन्त्र र समन्वयमार्फत काम अघि बढाउने तयारी गरिरहेको छ। कार्यवाहक प्रधानमन्त्री सिंहले जहाँ समस्या छ, त्यहीँ पुगेर तत्काल समाधान गर्न सम्बन्धित सरकारी निकायलाई आग्रह गरेका छन् ।