© २०२३
धनगढी ।
स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले शिक्षा र स्वास्थ्य जस्ता सेवामूलक क्षेत्रमा गुणस्तरीय सुधार र सबैका लागि समान पहुँच सुनिश्चित गर्नुपर्ने मागसहित तीन दिने सत्याग्रह सुरु गरेका छन् ।
उनले आइतबारदेखि कैलालीको गेटामा सत्याग्रह थालेका हुन् । सत्याग्रह भदौ १७ गतेसम्म सञ्चालन हुने छ । डा. केसीले चिकित्सा शिक्षा आयोगमार्फत केही निजी मेडिकल कलेजहरूलाई सिट संख्या वृद्धि गरिएको निर्णयको विरोध गरेका छन् ।
उनका अनुसार उक्त निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष र अनुचित हस्तक्षेपका कारण चिकित्सा शिक्षा ऐनको मर्मविपरीत गरिएको हो । उनले सिट वृद्धि फिर्ता लिन इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना गर्न र कैलालीको गेटामा निर्माणाधीन सरकारी मेडिकल कलेजमा अस्पताल सेवा तथा शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालनमा ल्याउन माग गरेका छन् ।
यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले सत्याग्रहमार्फत दबाब दिन खोजेका हुन् । उनको भनाइमा नेता र माफियाको प्रभावमा गरिएको सिट संख्या वृद्धिले शिक्षाको गुणस्तरमा गम्भीर गिरावट ल्याउनेछ, जसले दीर्घकालीन रूपमा जनस्वास्थ्यमा नकारात्मक असर पार्नेछ ।
विज्ञप्तिमा उल्लेख छ कि यस्तो निर्णयले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै संकटमा परेको छ । डा. केसीले पछिल्लो समय भारत र चीनले नेपालको लिपुलेक हुँदै व्यापार गर्ने सहमति गरेको समाचारप्रति आपत्ति जनाउँदै सीमा अतिक्रमणको विरोधमा यसअघि पनि सत्याग्रह गरिसकेको स्मरण गराएका छन् ।
त्यस्तै, उनले रुसद्वारा युक्रेनमाथि सन् २०२२ देखि भइरहेको आक्रमण, त्यस क्रममा भएका मानवताविरुद्धका अपराधहरू, र इजरायलद्वारा गाजामाथि गरिएको जातीय सफायाजस्ता कार्यको पनि विरोध गर्दै आवाज उठाउँदै आएको उल्लेख गरेका छन् ।
उनले लिपुलेकमा भइरहेको अतिक्रमण तुरुन्त रोक्न, अतिक्रमित नेपाली भूमि फिर्ता गर्न भारतलाई, र यतिबेला चलिरहेका नरसंहारकारी युद्धहरू रोक्न रुस र इजरायललाई आग्रह गर्दै आजदेखि तीन दिने सत्याग्रह सुरु गरेको घोषणा गरेका छन् ।